म पनि प्रवेश गर्ने !

अनलाइनखबर

काठमाडौं

बिहानै रेडियोले हाँडीगाउँका ५०० कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार प्रसारण गर्‍यो ।

घरको मतानमा रेडियो झुण्ड्याएर भैंसी दुहुदै गरेका वीरकाजी त्यो समाचार सुनेर छक्कै परे । ओहो ! अस्ति मात्रै पनि यही रेडियोबाट हाँडीगाउँका ३०० कार्यकर्ता चोचोमोचो पार्टी परित्याग गरी भद्रगोल पार्टीमा प्रवेश गरेको समाचार सुनेका थिए वीरकाजीले ।

वीरकाजीले मनमनै आफ्नो गाउँको जनसंख्या जोड्यो । पीपलबोट छेउ तीन घरका १८ जना, पाटीटोलको सात घरका ४५ जना, भीरमुनि १५ घरका १०३ जना र आफ्नै घर भएको काजीटोलको आठ घरका ५५ जना । गाउँको जम्मा जनसंख्या २२१ ।

त्यसमा पनि सात जना विभिन्न खाडी मुलुक पुगेका छन् । १३ जना मतदान अधिकार नभएको १८ वर्ष मुनिका बालबालिका छन् । यसरी हिसाब निकाल्दा पार्टी प्रवेश र मतदानको लागि परिपक्वको जनसंख्या भनेको २०१ छ । अब कसरी एक साताको बीचमा दुई पार्टीमा गरी ८०० कार्यकर्ता प्रवेश गरे होलान् !

उनले यो पार्टी प्रवेशको हिसाबकिताबको मेसो मिलाउनै सकेनन् । अझ भनौं उनले यसबारे त्यति धेरै तथ्य-तथ्याङ्क खोज्नेपट्टि मतलबै राखेनन् । बरु उनको ध्यान त गलाभरिको माला, दुई/चार वटा खादा र निधारमा लामो रातो टीका लगाएर कुनै एउटा पार्टी प्रवेश गर्न पाए हुनेथियो भन्नेतिर पो तानियो ।

प्रकाशित मिति: : 2022-04-23 11:53:00

प्रतिकृया दिनुहोस्