बिबिए कप ट्वान्टी–२० क्रिकेटको तयारी पूरा

पब्लिक यूथ क्याम्पसको आयोजनामा वैशाख १३ गतेदेखि हुने पिवाइसी बिबिए क्रिकेट कप ट्वान्टी–२० नकआउट प्रतियोगिताको तयारी पूरा भएको छ।

शनिबार चाबहिलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पूरा भएको जनाएको हो। नकआउट फर्म्याटका आधारमा हुने प्रतियोगितामा कुल १८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। 

खेलहरू मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। शनिबारै आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको ‘ड्र’ सार्वजनिक गरिएको थियो। 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्धा तय गरिएको छ। जसमध्ये उपत्यका बाहिरका टोलीमध्ये ‘ड्र’ मार्फत वीरेन्द्र बहुमुखी क्याम्पस चितवन र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जले बाई पाएर प्रिक्वार्टरफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनले आगामी संस्करण आयोजना गर्नुपर्ने प्रावधान अनुरूप पब्लिक यूथले यस संस्करण सञ्चालन गर्ने जिम्मा पाएको हो। कलेज स्तरको क्रिकेट प्रवर्धन तथा खेल भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता प्रबन्ध निर्देशक सुनिल थापाले जानकारी गराए। 

‘लामो समयदेखि आयोजना हुँदै आएको बिबिए कप पुनः यो वर्ष निरन्तरता पाउँदैछ,’ थापाले भने, ‘प्रतियोगिताको उद्देश्य युवालाई मंच प्रदान गरी उनीहरूको सामूहिक भावना, सम्बन्ध र खेलभावना विकास गर्दै नेतृत्व क्षमता अभिवृद्धि गर्नु हो।’

पब्लिक यूथ क्याम्पसका प्रमुख बलराम थापाले यस अघिका संस्करणहरू जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरूलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रहसमेत गरेका छन्।

 विगत एक दशकदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यसपटक म्यान क्यान डु प्रालिले व्यवस्थापन गर्नेछ। प्रतियोगिताका विजेताले ८५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले र प्लेयर अफ दी म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2022-04-23 21:14:00

प्रतिकृया दिनुहोस्