गण्डकीमा गठबन्धनको मनोनयन भोलि, एमालेको पनि टुंगिएन टिकट

गण्डकीमा गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका छन्। सत्ता गठबन्धनको भागबण्डा मिलेको छैन भने दलहरुले उम्मेदवार पनि टुंग्याउन सकेका छैनन्।

दलहरुकाे अलमलले मनोनयन ढिला भएको हो। सकेसम्म अझै गठबन्धनको प्रयास गर्ने र नभए मित्रवत प्रतिस्पर्धामा जाने दलहरुको तयारी छ।

त्यसैले आइतबार रातिसम्म प्रयास जारी राखिने कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए।

‘आज अझै प्रयास गर्छौं। नेताहरुसँग छलफल गर्छौं। मलाई लाग्छ, गठबन्धन कायम हुनेछ,’ उनले भने, ‘त्यसैले गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेका छौं।’ जिल्लाबाट रिपोर्ट झिकाएर बैठकमा ब्रिफिङ भैरहेको छ। गठबन्धनको अनिर्णयले दलहरुमा उम्मेदवार छनोट प्रक्रियासमेत अलमलिएको छ।

जिल्ला तहमा गठबन्धन बलियोसँग हुन नसकेपछि तालमेल टुट्ने देखिएको छ। गोरखामा कांग्रेस-माओवादीको मात्रै तालमेल गरिएकोमा केन्द्रले हस्तक्षेप गरेपछि अझै अन्योल सिर्जना भएको छ। अरु जिल्लामा पनि कुनै टुंगो छैन। आन्तरिक बैठक बसिरहेका छन्।

माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ गठबन्धन संस्कृति नभएका कारण समस्या भैरहेको बताउँछिन्। ‘हाम्रोमा गठबन्धनको संस्कृति छैन। त्यसमाथि फरक विचारधारा भएका पार्टीबीच गठबन्धन हुँदैछ,’ उनले भनिन्, ‘केही सकस भैहाल्छ। हामी मिलाउने प्रयासमै छौं।’

जनता समाजवादी पार्टी गण्डकी उपाध्यक्ष हेमबहादुर थापाले बैठकमा छलफल मात्रै भएको तर निर्णय हुन नसकेको बताए। गठबन्धनको प्रदेशस्तरीय बैठक शनिबार राति पनि बसेको थियो। अहिलेसम्म ८५ मध्ये कुनै पनि पालिकामा गठबन्धन मिलेको छैन। यद्यपि महानगरमा भने केन्द्रबाट भागवण्डा टुंग्याइएकाे थियाे।

गठबन्धनको मात्र होइन, एक्लै चुनावी तयारी गरेको एमालेमा पनि टिकट टुंगिएको छैन। शनिबार ३० पालिकाको मात्रै टिकट वितरण गरेको एमालेले आज बाँकी टिकट बाँड्ने छ। केन्द्रीय नेताहरु काठमाडौंमै भएकोले टिकट वितरण रोकिएको हो।

प्रकाशित मिति: : 2022-04-24 09:05:00

प्रतिकृया दिनुहोस्