दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ।
एमालेबाट उम्मेदवार बनेका टिकाराम खड्काले प्रमुखमा र स्यानी चौधरीले उपप्रखुमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका थिए।
उम्मेदवारी दर्तापूर्व र्याली निकालेको थियो। उम्मेदवारी दर्ता गर्न एमाले केन्द्रीय सदस्य कोमल वली, तुलसीपुरका हालका मेयर घनश्याम पाण्डे लगायत पुगेका थिए। सत्ता गठबन्धनले भने उम्मेदवारी दिने तयारी गरिरहेको छ।
तुलसीपुरको मेयरमा उम्मेदवारी दिएका खड्का को हुन?
मेयरमा उम्मेदवारी दिएका खड्का पञ्च्यात ब्यवस्था विरुद्ध आन्दोलन गर्दा जेल जिवन विताएका नेता हुन्।
१९ वर्षको हुँदा विद्यार्थी राजनीतिमा होमिएका उनी एक सुकुम्वासी पनि हुन्। डेढ वर्षको हुँदा आमा र १४ वर्षको हुँदा खड्काले बुवा पनि गुमाएका थिए।
उनले एसएलसी पास गरेका छन्। त्यसपछि भने खड्काले पढाइलाई निरन्ता दिन सकेनन्। भारतको गोरखपुर भारतबाट एसएलसी पास गरेपछि उनी राजनीतिमा पूर्णकालीन भएर लागेका थिए।
२०४१ सालमा तत्कालीन पार्टी मालेको भातृ संगठन अखिल नेपाल किसान संघको विजौरी स्तरीय सङ्गठित सदस्य बनेका उनी, २०४२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४३ सालमा अनेरास्ववियुको सहसचिव भए।
पञ्च्यात विरुद्धको आन्दोलनमा उनी २०४४ सालमा जेल समेत परेका थिए। २०४६ सालमा पञ्च्यात व्यवस्था अन्त्य भएपछि उनी २०४७ सालमा रोल्पा जिल्ला कमिटी उपसचिव भए। २०४९ सालदेखि पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए। रोल्पा जिल्ला सेक्रेटरीको जिम्मा २०५७ सम्म सम्हाले।
२०५८ सालदेखि दाङमा जिल्ला कमिटी रहेर काम गरे। २०६४ सालमा अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य बने भने २०६७ मा संघको स्थायी कमिटी सदस्य भए।
उनले २०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङको अध्यक्ष बनेर नेतृत्व गरे।
खड्का तत्कालीन एमाले र माओवादी एकीकरण पश्चात् बनेको नेकपा दाङको अध्यक्ष समेत बन्ने अवसर पाए। हाल खड्का एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य छन्।