दाङको तुलसीपुर उपमहानगरपालिकामा उपमेयरमा बागी उम्मेदवारी परेको छ।
तुलसीपुरमा पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दर्ता भएपनि नेकपा माओवादी केन्द्रकी मनकुमारी महत (शान्ति) ले उपमेयरमा बागी उम्मेदवारी दर्ता गराएकी हुन्।
माओवादी केन्द्र तुलसीपुर उपमहानगर कमिटीकी उपाध्यक्षसमेत रहकी शान्तिले गठबन्धनमा महिलालाई उपेक्षा गरेर उम्मेदवार नै नबनाएपछि आफूले उम्मेदवारी दिएका बताइन्।
उनले भनिन्, ‘गठबन्धन दलका नेताहरुले समावेशिता, समानुपातिक सिद्धान्तलाई नै इन्कार गर्दै महिलालाई उपेक्षा गरे। अनि मैले महिला प्रतिनिधिको रुपमा उम्मेदवारी दिएँ।’
तुलसीपुरमा गठबन्धन दलबाट काँग्रेसका गेहेन्द्र गिरी प्रमुखमा र उपप्रमुखमा एकिकृत समाजवादी पार्टीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन्। तर गठबन्धनले महिलालाई उपेक्षा गरेको भन्दै शान्तिले उपमेयरमा उम्मेदवारी दिइकी हुन्।
उनले उम्मेदवारी फिर्ता लिने बारेमा नसोचेको बताए। उम्मेदवारी दर्ता पछि पार्टीबाट कुनै प्रतिक्रिया नआएको बताइन्।