नेपालगन्जमा एमालेलाई २०५४ सालको जित दोहोर्‍याउने अवसर

नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकामा २५ वर्षअघिको जित दोहोर्‍याउने गरी निर्वाचन अभियान सुरू गरेको छ। २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यस यता वडाहरू बाहेक यहाँ कुनै पनि निर्वाचन जित्न सकेको छैन।

केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन्, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डिल्ली बिसी । 

उनी भन्छन्–‘संगठन सुदृडीकरण नै हाम्रो मुख्य शक्ति हो। अर्कोकुरा बिरोधीले जतिसुकै आरोप लगाएपछि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो। त्यो मुल्यांकन जनताले गर्दै हुनुहुन्छ। नेपालगन्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका छौं।’ 

एमालेले नेपालगन्जको मेयरमा यहाँका पुराना र जनाधार भएका नेता पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ। मिश्र पार्टीगत मात्र होइन मतदातामाझ राम्रो पकड भएका नेताकारूपमा चिनिन्छ। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र स्वयं मिश्रका लागि समेत प्रतिकुल अवस्था रहँदा रहँदै सुर्य चुनाव चिन्हबाट लडेका उनले झण्डै १६ हजार मत ल्याएका थिए। 

जित्न नसकेपछि त्यस्तो प्रतिकुल अवस्थामा त्यति मत ल्याउनु ठूलो कुरा भएको नेताहरू बताउँछन्। प्रतिनिधिसभा निर्वाचनताका मधेसमा एमाले बिरूद्ध फरक माहोल थियो। सुर्य चुनाव चिन्हबाट निर्वाचन लडेपनि मिश्र एमाले भइसकेका थिएनन्। 

मधेश आन्दोलनमा भएको सहभागितालाई लिएर विरोधीहरूले मिश्र विरूद्ध अनेक लान्छना लगाएर हल्ला फिजाए। त्यस्तो प्रतिकुल अवस्थामा समेत उनले सम्मानजनक मत ल्याएका थिए।

अहिले परिस्थिती पुरै फेरिएको छ। नेपालगन्ज लगायत मधेसमा एमालेको लहर छ भने मिश्र एमालेको केन्द्रीय सदस्य छन् जो संगठन बिस्तारमा सक्रियतापूर्वक लागेका छन्। एमालेका सामान्य कार्यकर्तासम्म भिजेका छन्। 

अघिल्लो पटक पराजय व्यहोरेका मिश्रलाई यसपटक सहानुभुती मत समेत आउने बताउँछन् एमालेका युवा नेता एवं वडा–१ का अध्यक्ष उम्मेदवार प्रमोद रिजाल। 

उनी भन्छन्–‘हामी २०७४ को भन्दा धेरै अनुकुल अवस्थामा छौं। तर यति भनेर हाइसन्चो मान्ने कुरा भएन। जित्नका लागि आवश्यक रणनीति बनाइरहेका छौं।’ 

२०५४ सालको निर्वाचनमा युवा संघको नेता रहेका रिजालले यसपटक एमालेले नेपालगन्जमा २०५४ सालको जित दोहोरयाउने बताउँछन्। यसपटक नजिते फेरी जित्न नसकिने अठोट सहित एमालेका नेता कार्यकर्ताहरू चुनावी रणनीतिमा जुटेका छन्।

प्रकाशित मिति: : 2022-04-27 12:32:00

प्रतिकृया दिनुहोस्