बूढानीलकण्ठमा २२ उम्मेदवारको मनोनयन फिर्ता

file photo
file photo

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये २२ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन्। 

बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले २२ वडाध्यक्ष एवं वडा सदस्यले मनोनयन फिर्ता लिएको जानकारी दिए।

नगरप्रमुख र उपप्रमुखमा भने कसैले उम्मेदवारी फिर्ता लिएका छैनन्।

बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा १५ र उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको थियो। 

बाइस जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब बूढानीलकण्ठमा ६७ पदका लागि २८६ जना प्रतिस्पर्धामा छन्।

बूढानीलकण्ठमा कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले)बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा, नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन्।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई निर्वाचित भएका थिए। उक्त नगरपालिकामा १३ वडा रहेका छन्।

प्रकाशित मिति: : 2022-04-30 19:36:00

प्रतिकृया दिनुहोस्