चुनाव जित्नेमा ढुक्क छु : लालकृष्ण चौहान

Breaknlinks
Breaknlinks

अन्यत्रझैँ ताप्लेजुङको श्रीजङ्गा गाउँपालिकामा पनि स्थानीय चुनावको रौनकता छाएको छ। सम्भावित हारजितलाई लिएर उम्मेद्वारहरुबीच जोड–घटाउ चलिरहँदा यस गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार लालकृष्ण चौहान भने आफ्नो जितप्रति निश्चिन्त छन्।

भन्छन्,‘म पार्टीको कार्यकर्ता भएर मात्र होइन, सामाजिक कार्यमा जोडिएको सामान्य मान्छे हुँ। सबै पार्टीका कार्यकर्ता र नागरिकसँग नजिकको सम्बन्ध बनाएको छु। हिजो पनि मलाई सबैको विश्वास जितेको थिए, फेरि पनि जित्ने नै छु। आम नागरिकका समस्या समाधान गर्ने सवालमा अर्को उपयुक्त मान्छे नभएकाले मै विकल्प हुँ।’

राजनीतिक सुझबुझ भएका मात्र होइन सामाजिक काममा पनि उतिक्कै भिजेका कारण चौहानप्रति जनसमुदायको एक खालको भरोसा देखिएको बुझ्न सकिन्छ। २०३२ साल वैशाख १० गते ताप्लेजुङको आम्बेगुदिनमा बुवा दलबहादुर र आमा पदममाया चौहानको छोराको रुपमा जन्मेका चौहान कांग्रेसका स्वच्छ छवि भएका नेतामा पर्छन्।

कांग्रेसको श्रीजङ्गा गाउँ कार्य समिति सभापतिको जिम्मेवारीमा रहेका उनी यसअघि कांग्रेसको श्रीजङ्गा गाउँपालिकामा वडा नं. २ का अध्यक्ष हुन्। शालिन र प्रष्ट बोल्ने व्यक्तिका रुपमा चिन्निछन्।

उनको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलन पश्चात सुरु भएको थियो। ०६२–६३ सालको जनआन्दोलनमा ताप्लेजुङमै रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका चौहान पार्टीका पक्षमा जनउभार ल्याउने कलामा पोख्त मानिन्छन्। ०६४ को संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले जताततै पराजय भोग्दै गर्दा ताप्लेजुङ १ मा विजयको झण्डा फहराउन सफल बन्यो।

नेता सूर्यमान गुरुङले शानदार मत ल्याएर जित हात पारे। गुरुङको जितमा कांग्रेसजनहरु चौहानलाई नै श्रेय दिन्छन्। २०४९ सालको स्थानीय चुनाबमै वडाध्यक्ष जितेका चौहान जनप्रतिनिधिका रुपमा ‘ह्याट्रिक’ गर्ने सुरमा छन्। अब विजयी हुँदा उनले तेस्रो पटक जनप्रतिनिधि हुनुको अनुभव बटुल्ने छन्।

व्यक्तिगत रुपमै उनले धेरै योगदान गरेका छन्। घरबारविहीनका लागि ५ रोपनी जग्गा नि:शुल्क वितरण गरेका छन्। वडा कार्यलय भवनलाई २  रोपनी, स्वास्थ्य चौकी भवनलाई २ रोपनी, वर्थिङ सेन्टर भवनलाई २ रोपनी, महिला भवनलाई १ रोपनी जग्गा र सहकारी सस्था भवनलाई ८ आना जग्गा नि:शुल्क प्रदान गरेर सामाजिक हितमा उनले स्तुत्य कार्य गरेका छन्।

वडाध्यक्षका रुपमा गरेका चर्चायोग्य कामहरु यसप्रकार छन्ः

नमुना वर्थिन सेन्टरको स्थापना, नमुना स्वास्थ्य चौकी निर्माण, सिंचाइँको लागि बृहत योजनाहरु, घर – घरमा खानेपानी  वितरण, धार्मिक तथा ऐतिहासिक मठ मन्दिरहरुको पुनर्संरचना, खेलकुदको लागि वडामा खेल मैदान निर्माण, शिक्षामा क्षेत्र सुधारको लागि छात्रवृत्तिसँगै जेहेन्दार विद्यार्थीलाई सम्पूर्ण खर्च वडाले व्यहोर्ने परिपाटीको निर्माण, कृषिमा उल्लेख्य योगदान, प्रहरी चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण, विद्यालयका भवनहरु निर्माण, वडाका सबै बाटोहरु सम्पन्न, गाउँगाउँमा विद्युत विस्तारलगायतका कार्यहरु सम्पन्न भएका छन्।

आफ्नो कार्यसम्पादन र योगदानबाट स्थानीय प्रभावित हुनु नै जित्ने आधार रहेको चौहान बताउछन्। भन्छन्,‘आफु भ्रष्टाचार गर्दिनँ, अरुका अनियमिततापनि उजागर गर्छु, मेरा बारमा जनतासँग कुनै भ्रम छैन, मैले नजित्नुपर्ने कारणपनि छैन।’

प्रकाशित मिति: : 2022-05-01 18:35:00

प्रतिकृया दिनुहोस्