बजेट : स्थानीय तहमा कृषि प्राविधिक र बाँझो जमिनको उपयोग प्राथमिकतामा

कृषिलाई ४९ अर्ब ५० करोडको बजेट प्रस्ताव

अनलाइनखबर

नवीन ढुंगाना

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८०को बजेट गत वर्षभन्दा झण्डै साढे ४ अर्ब रुपैयाँले बढाउन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले मोटामोटी टुंग्याएको बजेटको आकारअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश तथा स्थानीय तहको सशर्त वित्तीय हस्तान्तरण समेत गरेर कुल ४९ अर्ब ५० रुपैयाँ विनियोजन प्रस्ताव गरिएको मन्त्रालय स्रोतले बतायो ।

संघीय मन्त्रालयले खर्च गर्ने गरी ४१ अर्ब ५० करोड र  प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण अन्र्तगत ८ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । बजेटले सबै किसानलाई उन्नत बिउको उपलब्धता, प्राङ्गरिक र रसायनिक मलको सुनिश्चितता, स्थानीय तहमा कृषि प्राविधिकको उपलब्धता र बाँझो जमिनमा खेतीपातीलाई प्राथमिकतामा राख्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पठाएको योजना र कार्यक्रम भन्दा झण्डै साढे २ अर्ब रुपैयाँ थप गरे कृषिका लागि बजेट तयार भएको अर्थ मन्त्रालय स्रोतले बतायो । चालु आवमा कृषिका लागि ४५ अर्ब बजेट विनियोजन भएको थियो ।

‘कृषि मन्त्रालयले यस वर्ष ४७ अर्बको सिलिङ पठाएको थियो’ स्रोत भन्छ, ‘यसमा थप साढे २ अर्ब हारहारी बढाएर बजेट प्रस्तव गरिएको छ ।’

प्रकाशित मिति: : 2022-05-12 15:46:00

प्रतिकृया दिनुहोस्