गैरसरकारी संस्थाबाट राजनीतिमा फड्को

Breaknlinks
Breaknlinks

द्वन्द्वको समयमा रोल्पामा सरकारको उपस्थिति सदरमुकाम आसपासका क्षेत्रमा सीमित थियो। जिल्ला सदरमुकाम बाहिर जाँदा वा बाहिरबाट जिल्ला सदरमुकाम आउँदा विद्रोही माओवादीबाट अनुमती लिनुपर्थ्याे। ८० प्रतिशत भू–भागमा आफ्नो सत्ता चलेको दाबी गर्ने माओवादीको अनुमती विना आवतजावत गर्न असम्भव थियो।

त्यस्तो परिस्थितिमा सदरमुकाम बाहिर गएर काम गर्नु सहज थिएन। माओवादी द्वन्द्वको चरमोत्कर्षको समयमा नागरिकसम्म राज्य पुगेकाे अनुभूती दिलाउने काम गैरसरकारी संस्थाहरूले गरेका थिए।

त्यस्ता गैरसरकारी संस्थामध्ये एक थियो, विकास सरोकार समाज। यसको संस्थापक थिए, कर्ण बाँठामगर। २०६१ सालमा स्थापना भएको सो गैरसरकारी संस्थामार्फत् जनतासम्म पुग्ने तीनै व्यक्ति अहिले रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।

विकास सरोकार समाज नामक गैरसरकारी संस्था स्थापना गर्नुपूर्व उनले ग्रामीण पुनरनिर्माण संस्था (आरआरएन) मा काम गरे। सो संस्थामा उनले कर्मचारीको रूपमा काम गरेका थिए। आफ्नै अगुवाईमा विकास सरोकार समाज नामक गैरसरकारी संस्था स्थापना गरेपछि उनले करिब १५ वर्ष सोही संस्थाको नेतृत्व गरे।

उनी गैरसरकारी संस्था महासंघ  रोल्पाको अध्यक्ष समेत भए।

गैरसरकारी संस्थामा लामो समय काम गरेका बाँठा स्थानीय सरकारको प्रमुख भएका छन। गैरसरकारी संस्थामा सिकेका कुरा स्थानीय सरकारको विकासमा उपयोग गर्ने बाँठाको भनाइ छ।

‘गैरसरकारी संस्थामा सिकेका राम्रा कुरा स्थानीय सरकार संचालनमा उपयोग गरेर सुशासनलाई अझै मजवुत बनाउने काम गर्छु,’ बाँठमगरले भने।

बाँठा जस्तै गैरसरकारी संस्थामा काम गरेर राजनीतिमा फड्को मार्ने अर्का जनप्रतिनिधि हुन्, सरिता केसी। सरिता केसी रोल्पाको रून्टीगढी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छिन्।

नेपाली कांग्रेसबाट निर्वाचित केसी अघिल्लो निर्वाचनमा समेत उपाध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएकी थिइन्।

उनले ग्रामीण विकास तथा चेतना समाज नामक रोल्पाको स्थानीय गैरसरकारी संस्थामा केही वर्ष सामाजिक परिचालकको रूपमा काम गरेकी थिइन्। वन, वातावरण, जलवायु परिवर्तन जस्ता क्षेत्रका साथै सामजिक परिचालन, महिला सशक्तीकरण गरिबी न्यूनिकरण जस्ता क्षेत्रमा काम गरेको अनुभव छ।

गैरसरकारी क्षेत्रमा लामो समय काम गरेर स्थानीय तह निर्वाचन जितेका अर्का जनप्रतिनिधि हुन्, गणेश पुन मगर। उनी लुंग्री गाउँपालिका वडा–१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका छन्।

उनले लामो समयसम्म फेकोफन नामक रोल्पाको गैरसरकारी संस्थामा काम गरे। उनले वन, वातावरण, जलवायु परिवर्तन, सामाजिक परिचालन, गरिबी निवारणजस्ता क्षेत्रमा काम गरेको बताउँछन्।

गैरसरकारी क्षेत्रबाट सिकेको कुरा स्थानीय सरकार संचालनमा पनि उपयोगी हुने उनको अपेक्षा छ। पुनले केही समय शिक्षण पेसा पनि अंगालेका थिए।

द्वन्द्वको समयमा रोल्पाको थबाङ जानु सरकारी गैरसरकारी निकाय तथा त्यसमा काम गर्ने व्यक्तिहरूलाई असम्भव जस्तै थियो। त्यस्तो असम्भव समयमा समेत जनक पुनमगरले रोल्पाको थबाङमा बसेर गैरसरकारी संस्थामा काम गरे।

द्वन्द्वको उत्तराद्र्धमा उनले विकास सरोकार समाज नामक स्थानीय गैरसरकारी संस्था र त्यसपछि फेकोफन नामक संस्थाको कर्मचारी भएर काम गरे।

गैरसरकारी संस्थामा लामो अनुभव संगालेका तीन पुन अहिले रोल्पाको थबाड गाउँपालिका वडा–३ मा नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका छन्। उद्यम विकास, गरिबी निवारण, वन तथा वातावरण र जलवायु परिवर्तन क्षेत्रमा गरेको अनुभव स्थानीय तह संचालनमा उपयोग गर्ने सोचमा छन, उनी।

अघिल्लो स्थानीय तह निर्वाचनमा समेत वडाध्यक्ष भएर काम गरेको अनुभव संगालेका रोल्पा त्रिवेणी गाउँपालिका वडा–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरको पृष्ठभूमि पनि गैररकारी क्षेत्र हो।

उनी रोल्पाको त्रिवेणी गाउँपालिका वडा–७ मा नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले लामो समय विकास सरोकार समाज र स्थानीय विकास कोष मार्फत् गरिबी निवारण सम्बन्धि काम गरे।

गरिबी निवारण स्थानीय तहको पनि प्राथमिकताको विषय भएकाले स्थानीय सरकार संचालनमा पुरानो अनुभव उपयोगी हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-05-20 11:12:00

प्रतिकृया दिनुहोस्