‘निर्वाचन अधिकृत एमालेकाे पक्षमा खुलेर लागे’

गौरादह नगरपालिकाको मतगणना कार्य स्थगित भएको छ। गौरादह-७ को मत परिणामलाई लिएर कांग्रेस-माओवादी-जसपा गठबन्धनले विरोध जनाएपछि मतगणना कार्य राेकिएकाे हाे।

गौरादहका निर्वाचन अधिकृत बिदुर कार्कीले एकलौटी ढंगले मतपरिणाम सार्वजनिक गरेको भन्दै गठबन्धन सम्बद्ध दलहरुले विराेध गरेका छन्।

गठबन्धनतर्फका वडाध्यक्षका उम्मेदवार दिलनाथ कटुवालले निर्वाचन अधिकृतको कार्यालयमा मतगणनामा व्यापक धाँधली भएको भन्दै निवेदन दर्ता गराएका थिए। तर, निर्वाचन अधिकृत कार्कीले निवेदन उपर कुनै सुनुवाइ नगरी निर्वाचन परिणाम घोषणा गरेपछि मतगणना स्थलमा गठबन्धन पक्षका नेता कार्यकर्ता आक्राेशित भएका छन्।

कांग्रेस नेता खगेन्द्र पाण्डव अधिकारीले भने, ‘निर्वाचन अधिकृतले एकलाैटी मतगणना गरेका छन्। एमालेकाे पक्षमा निर्वाचन अधिकृत खुलेर लागेका छन्। उनले आफ्नो कर्तव्य निर्वाह गरून्। कसैलाई जिताउन वा हराउन आएका हुन् भने फिल्डमा झरुन्।’

गठबन्धनका वडाध्यक्ष उम्मेदवार कटुवाल र नेकपा एमालेका उम्मेदवार बलराम खरेलबीच १२ वटा मतपत्र गन्न बाँकी रहँदा दुबै दललाई १९१-१९१ मत प्राप्त भएको थियो। बाँकी रहेका १२ मतपत्रमा निर्वाचन अधिकृत कार्कीले गठबन्धन दलका प्रतिनिधिलाई ‘बाइपास’ गर्दै मत परिणाम घोषणा गरेको उनको आरोप छ।

‘सदर-बदर मतबीच तालमेल छैन तर, निर्वाचन अधिकृतले बलजफ्ती पाराले मत सार्वजनिक गरे’, उनले भने, ‘हाम्रो माग सुनुवाइ नहुन्जेल मत गणना अगाडि बढ्न दिँदैनौँ। गणना गर्ने प्रयास गरे त्यसको जिम्मा निर्वाचन अधिकृतले लिनुपर्छ।’

गौरादह निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन सम्बद्ध दलको मागलाई बेवास्ता गरेको भन्दै आज नै जिल्ला निर्वाचन कार्यालय झापामा अर्को निवेदन दर्ता गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: : 2022-05-20 13:06:00

प्रतिकृया दिनुहोस्