सगरमाथाकाे चुचुराेमा ‘मोगान’को झण्डा फरर (तस्बिरहरू)

पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान)को झण्डा विश्वको शिखर सगरमाथाको चुचुरोमा पुगेको छ। संस्थाको उपाध्यक्ष तथा नेपाली माउन्टेन गाइड पासाङ लामाले  वैशाख २९ गते बिहान (१२ मे २०२२) मा मोगानको झण्डा सगरमाथा पुर्‍याएका हुन्।

चुचुरोमा संस्थाको झण्डा फहराउन पाउँदा अत्यन्तै खुसी हुँदै उनले यो झण्डा नेपालमा कार्यरत हजारौँ पर्वतीय पथ प्रदर्शकहरुको (माउन्टेन गाइड) सामुहिक प्रतिनिधित्व भएकाे बताएका छन्।

३७ वर्षे संखुवासभाका पासाङले ६ पटक सगरमाथा आरोहणको साथै ८ हजार माथिका ८ वटा हिमाल आरोण गरिसकेका छन। हाल उनले मकालु एक्ट्रिम ट्रेक एण्ड एक्क्पिडिसनबाट २ जना रसियन आरोहीलाई सगरमाथा सफल आरोहण गराएका छन।

नेपाली पर्वतीय पथ प्रदर्शकहरुले वर्षौदेखि विश्वभरका हजारौँ आरोहिहरुलाई सफलतापूर्वक सगरमाथा चढाउँदै आएका छन। मोगानका अध्यक्ष सञ्जिव गुरुङले यो झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउनु सम्पूर्ण नेपाली माउन्टेन गाईडहरुको लागि गौरवान्वित कुरा भएकाे बताए।

'यो सफलता नेपाली माउन्टेन गाईडको पहिचानको लागि लड्डै आएको सम्पूर्ण नेपाली पथ प्रदर्शकहरुको सहासिक कामप्रतिको उच्चसम्मान भएको सन्देश विश्वभर पुगेको छ,' उनले बताए।

सन् २०२१ मा नेपाल सरकारको जिल्ला प्रशासन कार्यलय, काठमाडाैँस्थित गैरसरकारी संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएको माउन्टेन गाइड एशोसिएशन नेपाल (मोगान) एक गैरसरकारी संस्था हो।

यो संस्थाको मुख्य उद्देश्य पर्वतीय पर्यटन क्षेत्रका पथ प्रदर्शक तथा श्रमिकहरुको हक/हितको लागि आवज उठाउनुको साथै पर्वतारोहण तालिम गर्न नेपाल सरकार तथा विभिन्न सरोकारवालासंग सहकार्य गर्नु हो।

संस्थाको स्थापना कालदेखि पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको हक हितबारे (मोगान)ले आवाज  उठाउँदै आइरहेको छ।

गत वर्ष नेपाल सरकारको पर्यटन विभागले नेपाल पर्वतारोहण संघ (एनएमए)को सिफारिसमा पर्वतीय पथ प्रदर्शकहरूलाई २०७७ चैत १ गतेबाट परिचय–पत्र वितरण सुरु गरिएको थियो। त्यही क्रममा १२० जनाले परिचय–पत्र पाइसकेका थिए। भने, ३०० जनाभन्दा बढीले एनएमएबाट सिफारिस लिइसकेका छन्। तर, नेपाल सरकारले माउन्टेन गाइड लाइसेन्स (परिचय पत्र) जारी गरेकोमा केही अन्तराष्ट्रिय तालिम प्राप्त पथ प्रर्शकहरुले विरोध जनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

एक वर्षदेखि परिचय–पत्र वितरण कार्य रोक्न सर्वाेच्चले अन्तरिम आदेश दिएकाले विभागले वितरण कार्य बन्द गरेको छ। यहीको विरुद्ध मोगानले विभिन्न पर्वातीय पर्यटन सम्वद्ध संघ संस्था र पर्यटन विभाग समेटेर वृहत्तर अन्तरक्रिया गरेको थियो। संस्थाले निरन्तर नेपाली गाईडहरुको हकहित र पहिचानको बारे आवाज उठाउँदै आएको छ।

नेपाल पर्यटन विभागका पछिल्लो रिपाेर्टअनुसार यो स्प्रिङ सिजनमा विभिन्न ४२ टोलीका कम्तीमा ३१९ जनाले सगरमाथा आरोहणको साथै १३४ जनाले ल्होत्से हिमाल आरोहणको अनुमति लिएका छन्।

यो मध्ये ९८% विभिन्न देशका आरोहीद्वारा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जानकारी गराएको छ।

नेपाली माउन्टेन गाईड (क्लाईम्विङ शेर्पा) विना कुनै पनि हिमाल आरोहण प्राय असम्भव छ। यो सिजनमा सगरमाथा हिमाल आरोहण गराउन कम्तिमा ५०० भन्दा धेरै नेपाली पर्वतिय पथ प्रदर्शक (माउन्टेन गाईड) तथा पर्यटन मजदुरहरु प्रत्यक्ष संलग्न रहेको छ।

प्रकाशित मिति: : 2022-05-20 22:21:00

प्रतिकृया दिनुहोस्