नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–२० लिगको टिमको नाम सार्वजनिक गरेको छ।
क्यानको बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाम टुंगोसहित सार्वजनिक गरेको हो।
प्रतियोगिता ८ असोजबाट ५ कात्तिकसम्म हुने यस अघि नै क्यानले निर्णय गरेको थियो। लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी भैरहवा र फार वेस्टर्न नाम घोषणा गरेको छ।
यसअन्तर्गत रहेर क्यानले टिम नाम बेच्ने छ र मालिकसमेत सार्वजनिक गर्नेछ । यसपछि भने खेलाडी अक्सन हुनेछ।
यसअघि नै क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम खेलाडीको अक्सन न्यूनतम ५ लाखबाट अधिकतम १५ लाखसम्म हुने बताएका छन्।
प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेको थियो। क्यानले यस प्रतियोगिता आयोजना गर्ने भएसँगै यसअघि सञ्चालनमा आएका तीन फ्रेन्चाइज प्रिमियर लिगले राष्ट्रिय मान्यता नपाउने भएका छन्।
नेपालमा संचालनमा आएका एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) ले अब क्षेत्रीय लिगको संरचनामा गएमात्रै मान्यता पाउनेछन्।