जसले गल्ली–गल्लीका थाेत्रा कुकर बनाएरै डाक्टर बने (भिडियाेसहित)

कमल प्रभात

काठमाडाैं
Breaknlinks
Breaknlinks

काठमाडौँ छिरेर एउटा सुकुम्बासी बस्तीमा बसी गल्लीहरु चहार्दै घर–घरमा पुगेर बिग्रेका प्रेसर कुकर बनाउँदा यिनलाई कसले डाक्टर होला भएर सोचेको थियो होला त ? झुत्रा लुगामा कलेज पुगेर ‘म डाक्टरी पढ्न आएको हुँ’ भन्दा गेट बाहिरैबाट लखेटेका ती पालेले यो केटाले डाक्टरको बर्दी लगाउला भन्ने सोचेका होलान् र ? एउटा गरीबको छोरा गाउँकै पहिलो डाक्टर बन्ला भनेर ती स्थानीयहरू सोचेका हुँदा हुन् त? जब कि त्यहाँ महाजनका छोराछोरी पनि डाक्टर बन्न सकेका थिएनन्।

तर, यी सबैले कल्पानसमेत नगरेकाे कुरा गरेर देखाए, रौतहटको गढीमाई नगरपालिकाका-९ इनरुवाका रामजी रामले। ठूलो संघर्ष र कडा मेहनत गरेर रामजी रामले बिहीबार वीरगञ्जको नेसनल मेडिकल कलेज एमबीबीएस पास गरे। उनी अब कुनै अस्पतालमा डाक्टरको रुपमा काम गर्ने छन्, बिरामीको ज्यान बचाउने छन्। एउटा सामान्य परिवारमा जन्मेका रामजीले सानो मेहनत र संघर्षले भने यो सफलता पाएका होइनन्। त्यसको लागि उनले निक्कै दुख गरेका छन्, कष्ट भोगेका छन्।

रामजी राैतहटकाे गरुडाबाट प्लस टु पास गरेर २०७० सालमा भिनाजुसँग काठमाडौं आएका थिए। त्यो पनि पढ्न होइन, बिग्रेका प्रेसर कुकर बनाउने काम गर्न। काठमाडौंमा उनले चिनेका कोही थिएनन्, जो राम्रो पहुँच र माथिल्लो पदमा होस् र साथ सहयाेग गराेस्। त्यसैले उनले सुखले काठमाडौं चिन्न पाएनन्, दु:खले भोगे।

‘काठमाडाैँ आउँदा भिनाजुसँग आएकाे थिएँ, यहाँ काेही आफूलाई सहयाेग गर्न सक्ने मान्छे थिएनन्।’ केही समयअघि बिएल नेपाली सेवाकाे कार्यालयमा उनले भनेका थिए, ‘काठमाडौँ आएपछि थापाथलीको बंशिघाटका जोगीहरूसँग बसेँ। भिनाजुको कोठा थिएन।’

जोगीको बसेरामा पनि उनलाई अट्न मुस्किल भयाे। दैनिक जाेगीहरू थपिरहन थालेपछि उनी त्यहाँबाट छाेडेर बागमती किनारको सुकुम्बसी बस्तीमा आश्रय खोज्दै भौँतारिए। इन्द्र परियारको टहरोमा आश्रय पाए। त्यही पनि साँधुराे काेठा धेरै जना बस्नुपर्ने उनले दुखले समय कटाए।

त्यहीँ बसिरहेका बेला उनलाई एकजना गाउँका शिक्षकले ‘इन्जिनियर पढ्न दलितका लागि छात्रवृत्ति कोटा छुट्याइएको हुन्छ, गएर पढ्नु’ भनेर सुझाव दिए। इन्जिनियर पढ्ने बन्दाेबस्त त मिल्याे तर उनकाे मन खुसी भएन, उनकाे इच्छा अर्कै थियाे। अन्तत: उनले साथी–भाइकाे सुझावअनुसार एमबीबीएस पढ्न छात्रवृत्तिका लागि फारम भरे। छात्रवृत्तिमा उनको नाम पनि निस्कियाे।

अब एमबीबीएस पढ्न पाइने भयाे भनेर हाेसिँदै रामजी ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगे। तर, किष्टले गेटबाट भित्र छिर्न पनि दिएन। ‘कपडा मैलो थियो, चप्पल लगाउँथे। ‘रामजी राम मै हो’ भन्दा पनि कलेजकाे गेटबाट छिर्न दिएनन्,’ रामजीले भने।

एमबीबीएसको कक्षा सुरु भइसक्दा पनि उनले कलेजमा पाइला टेक्न पाएनन्। अनेकाैँ झमेलापछि किष्टमा पढ्ने अवसर त मिल्याे तर रामजीकाे मनले मानेन, वीरगञ्जकाे नेसनल मेडिकल कलेज गए। त्यहाँ पनि उनले धेरै कष्ट भाेग्नु पर्‍याे। समयमा परीक्षा फारम भर्न सक्दैनथे, हाेस्टेलमा बस्न पनि मुस्किल भइरहन्थ्याे, अनेकाैँ विभेद भाेग्नुपर्‍याे। तथापि, अब भने राजमीकाे परिचय फेरिएकाे छ। उनी कुकर बनाउने भाइबाट डाक्टर साहेव बने।

प्रस्तुत छ, डा. रामजी रामसँग उनकाे भाेगाइ र समाजबारे बिएल नेपाली सेवाले गरेकाे भिडियाे कुराकानी :

प्रकाशित मिति: : 2022-06-04 19:28:00

प्रतिकृया दिनुहोस्