डोल्पामा बाढीले पुल बगाएपछि आवत–जावत बन्द

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा–९ अन्तर्गत पर्ने चुँ गाड खोलाको काठेपुल खोलाले बगाएको छ।

दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवत जावत ठप्प भएको छ।

खोलामा पुल नभएपछि नगरपालिको वडा–९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवत–जावत गर्न सकेका छैनन्। औषधि उपचार,बैंकिङ् सेवा, किनमेललगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिएका छन्।

खोलामा पुल नबनेसम्म सर्वसाधारणहरु काम परे पनि सहज आवत जावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ।

त्यसैगरी, बाढीकै कारण जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवत जावत गर्नकालागि बनाइएको खोलाको तटवन्ध समेत भासिएको छ।

मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएका छन्।

मालवाहक ट्रक,ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट,जुफाल लगाएतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानीहुन सकेको छैन। यथाशिघ्र पुल सञ्चालन नभए बजारमा दैनिक उपभोग्य सामाग्री समेत महंगिने स्थानीय व्यापारीको भनाई छ।

प्रकाशित मिति: : 2022-07-25 07:16:00

प्रतिकृया दिनुहोस्