जनताको मन जित्दै वडाध्यक्ष भण्डारी

डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त भण्डारी दिनहुँ चल्ने औपचारिक कार्यक्रममा भन्दा जनताको समस्या समाधानमा जुट्न रुचाउने गर्छन्।

प्रत्येक दिन औपचारिक कार्यक्रम भइरहने जिल्ला सदरमुकामको वडाबाट निर्वाचित भएर पनि उनी हरबखत जनताकै समस्यामा केन्द्रित हुने गरेका छन्।

उनी विकासे कामदेखि प्राकृतिक विपत्तिका घटनामा समेत आफैँ खटिँदै आएका छन्। स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भण्डारी निर्वाचित भएदेखि नै जनताका हरेक समस्यामा प्रत्यक्ष रुपमा हातेमाले गर्दै आएका छन्।

बर्खा लागेसँगै ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा विद्युत सेवा दिँदै आएको जैरीगार्ड जल विद्युत आयोजना अवरुद्ध भइरहने गर्छ। तर, अवरुद्ध भएको केही समयमै सरोकारवाला व्यक्तिसँग समन्वय गरेर सेवा सुचारु गर्न आफैँ काममा खटिने गरेका छन्।

उनी निर्वाचित भएयता दुई/तीन पटक नै मुहानमा भरिएको बालुवा फालेर विद्युत सेवा सुचारु गरेको ठुलिभेरीका स्थानीय धनिराम मल्लले बताए। वडाध्यक्ष भण्डारीले सदरमुकामबासीको मन जितेर काम गरिरहेको उनले बताए।

‘मलाई जनताका हर समस्या आफ्नै समस्या जस्तो लाग्छ। त्यसो त जनप्रतिनिधिको काम औपचारिक कार्यक्रममा मात्र जाने नभएर जनताको हरेक दुख सुखमा साथ दिनु महत्वपूर्ण हो’, वडाध्यक्ष भण्डारीले भने।

जनप्रतिनिधिमाथि जनताको आशा भरोसा हुने भएकाले निर्वाचित भइसकेपछि आफ्नो अर्काको नभनि जनताको सेवामा समर्पित हुनुपर्ने उनको बुझाइ छ।

दुई साताअघि सदरमुकाममा गएको भिषण वर्षात पछिको बाढीपहिरोको कारण दर्जनाैँ घरपरिवार विस्थापित भए। पहिरोले घर, टहरा नै बगायो। त्यहाँ पनि वडाध्यक्ष भण्डारी आफैँ खटिएर पहिरोमा पुरिएका सामान निकाल्नेदेखि विस्थापित घरपरिवारलाई राहतसमेत बाँड्ने काम गरे।

वडाध्यक्षको यो कामको सामाजिक सञ्जालमा समेत चौतर्फी प्रशंसा भयो। वडाध्यक्ष भण्डारीले निर्वाचित भएको तीन महिनाभित्रै आधा दर्जन महत्वपूर्ण काम गरेको स्थानीयको भनाइ छ।

पहिलो काम सडक बत्ती जडान

वडाध्यक्ष भण्डारीले आफ्नो कार्यकालको पहिलो कामको रुपमा सदरमुकाम दुनैमा सडक बत्ती जडान गरेका छन्।

प्रायः बिग्रिरहने बिजुली बत्तीका कारण अन्धकार भइरहने दुनै बजारका विभिन्न चोकमा सडक बत्ती जोडेपछि दुनै बजार झिलिमिलि भएको छ।

आफ्नो कार्यकालको पहिलो कामको रुपमा सदरमुकामको ५२ वटा ठाउँमा सडक बत्ती जडान गरेको अध्यक्ष भण्डारीले बताए। कर्णाली प्रदेश सरकारले ३५ लाख लगानीबाट सडक बत्ती जडान गरिएको उनले बताए।

बजार उज्यालो भएपछि अँध्यारोको मौका छोपी हुनसक्ने चोरी डकैती, झैझगडा जस्ता अपराधिक क्रियाकलाप पनि कम हुने दुनैबासीको भनाइ छ।

त्यसैगरी दुनै खानेपानी सुधार र सदरमुकामस्थित मुल बाटो ग्राबेलका लागि प्रदेश सरकारबाटै ८५ लाख रकम भित्र्याएको उनले जानकारी दिए।

विपन्न बालकको पढाइको जिम्मा

वडाध्यक्ष भण्डारीले सरस्वती माध्यामिक विद्यालय दुनैमा अध्ययनरत एक विपन्न बालकको पढाइको जिम्मासमेत लिएका छन्।

आइतबार विद्यालयमै पुगेर उक्त बालकको एसईईसम्मको पढाइको सम्पूर्ण खर्चको जिम्मा लिएका हुन्।

कमजोर आर्थिक अवस्था भएका बेसाहारा बालकको पढाइ खर्च नभएरै बिचैमा नछुटोस भनेर उनको एसईईसम्मको पढाइको जिम्मा आफूले लिएको अध्यक्ष भण्डारीले बताए।

अध्यक्ष भण्डारीले रुकुम घर भएका कक्षा आठमा अध्ययनरत प्रकाश थापाको शैक्षिक सामाग्री, विद्यालय पोशाकसहित एसईई पास हुँदासम्मको सम्पूर्ण खर्च बेहोर्ने गरी जिम्मा लिएको विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिए।

थापा विपन्न विद्यार्थी मात्र नभइ सामान्य अपाङ्गसमेत भएकाले ठुलो सहयोग गरेको भन्दै धन्यवादसमेत दिए। त्यसैगरी अध्यक्ष भण्डारीले सोही वडाकै दुई जना दलित बालबालिकाको समेत पढाइको जिम्मा लिएका छन्।

स्थानीय तनसा कुलाल र जीवन विकलाई दुनै बोर्डिङ स्कुलमा कार्यकालभरि आफ्नो सेवा सुविधाबाटै पढाउने गरी जिम्मा लिएको उनले बताए।

प्रकाशित मिति: : 2022-07-25 15:43:00

प्रतिकृया दिनुहोस्