त्याे बेलाकाे रुवाइ एक माैकाकाे लागि थिएन

केही महिना संघर्ष गर्दा गर्दै दाेस्राे टर्मिनलकाे परीक्षा आइसकेकाे थियाे। मनमा पढ्न सक्दिनँ कि भन्ने डर अझै थियाे। तर, आत्मविश्वास भने बढाइरहेकाे थिएँ। आफैंले आफूलाई कन्भिन्स गराउथेँ। याे सहज र असहज दुबै हाे। दाेधारे मनमा उठ्ने लहरले सक्छु कि सक्दिनँ भइरहन्थ्याे।

सहयोगी सरहरु हुनुहुन्थ्यो। उहाँहरुले तिमीले अब चाहिँ जसरी पनि राम्राे गर्नैपर्छ भन्नुहुन्थ्याे। मेराे कडा मेहनत, दाइकाे साथ, सरहरुकाे सहजीकरण र साथीहरुकाे सहयाेगले गर्दा दाेस्राे टर्मिनलमा मैले तीन वटा विषय पास गरेकाे थिएँ। दुई वटा फेल भएकाे विषयमा पनि थाेरै अंक पुगेकाे थिएन। पहिलाे टर्मिनलमा सबै विषयमा फेल थिएँ। सबैभन्दा बढी अंग्रेजीमा १२ नम्बर आएकाे थियाे। तर, दाेस्राे टर्मिनलकाे त्याे उपलब्धी मेराे लागि मनग्ये थियाे।

बिस्तारै अब सिइओ सर र मेरा अन्य सरहरू पनि यसले सक्छ है भन्ने कुरामा विश्वस्त हुनुभएकाे थियाे। सिइओ सर कहिले काहीँ क्लास लिन आउँदा मलाई निकै फाेकस गर्नुहुन्थ्याे। प्रश्न साेधिरहनुहुन्थ्याे। म पनि उहाँको क्लास छ भन्ने थाहा पाएपछि घरमै पूर्व तयारी गरेर जान्थेँ। सही उत्तर दियाे भने दंग पर्दै मेराे उदाहरण दिएर अरुहरुलाई सम्झाउनुहुन्थ्याे। भन्नु हुन्थ्याे, ‘हेर उसलाई मिहेनत गर्‍यो भने असम्भव के छ र!’

कक्षा चलिरहँदा समय कटेकाे पत्तै भएन। थर्ड टर्मिनल नजिक आयाे। थर्ड टर्म लगत्तै एघारकाे फाइनल जाँच दिनुपर्ने थियाे। मनमा अझै पनि डर थियाे। म अन्ततोगत्वा थर्ड टर्म र ११ काे फाइनलमा कुनै पनि विषय नलगाएर रेगुलर पास भएकाे थिएँ।

सिइओ सर खुसी भएर मलाई १२ मा राम्रै छुट दिनुभएकाे थियाे। अब मलाई १२ मा पढ्न धेरै सजिलाे भइसकेकाे थियाे। मैले पढाएकाे कुरा बुझिनँ भने सरलाई नबुझिन्जेलसम्म साेधिरहन्थेँ। नजानेकाे कुरा साेध्नलाई कत्ति पनि हिचकिचाउँदैन थिएँ। सरहरुकाे माया पनि झनै बढेकाे थियाे। केही साथीहरु पनि अत्यन्तै घनिष्ट भइसकेका थिए। नबुझेकाे कुरा आफ्ना साथीहरुसँग पनि अप्ठ्याराे नमानेर साेध्ने गर्थेँ।

जाे प्रश्न साेध्न लजाउँछ, जसले आफ्ना साथी-भाइहरुसँग बिना हिचकिचाहट नजानेकाे कुरा साेध्न सर्माउँछ, उसलाई हरेक कुरामा पास हुन गाह्राे पर्छ।

१२ मा पनि मेराे मिहेनतमा कुनै कमी थिएन। त्यसैकाे परिणामले हाेला मैले ११ मा भन्दा १२ काे फाइनल जाँचमा १० प्रतिशत अंक बढाएकाे थिएँ। म १२ काे हरेक टर्मिनलमा पास भएकाे थिएँ।

सिइओ लगायत सबै सरहरुले हरेक क्लासमा मेराे उदाहरण दिनुहुन्थ्याे। त्याे बेलामा मलाई कलेजमा हरकाेहीले चिन्थे।

१२ काे जाँच सकिएर रिजल्ट आइसकेपछि सर्टिफिकेट लिँन जाँदा हामीहरुकाे बिदाइ कार्यक्रम पनि थियाे। मलाई पढाउने सबैजना सरहरुसँगै हुनुहुन्थ्याे। एकजना सरले सबैले सुन्ने गरेर मेराे बारेमा भनेकाे कुरा आज पनि झलझली याद छ।

‘हेर भुमेश शिक्षकले आफ्नाे जीवन कालमा हजारौं विद्यार्थीहरूलाई पढाउँछ। उसले सधैंभरि कि त साह्रै खत्रा विद्यार्थीलाई सम्झिन्छ, कि त साह्रै खत्तम काम नलाग्ने विद्यार्थीलाई सम्झिन्छ। तर तिमी न खत्रा थियाै न त खत्तम नै। तर पनि हरेक टिचरले तिमीलाई सम्झिनेछ,’ सरले भन्नु भएकाे थियाे।

थाहा छैन सरले किन मलाई त्यस्ताे भन्नु भयाे! थाहा छैन किन म हरेक शिक्षककाे मन मुटुमा बसेँ ? थाहा छैन म असाध्यै राम्राे नहुँदा नहुँदै पनि हरेकले किन सम्झिने भएँ। मैले कहिल्यै त्याे कुरा जान्ने प्रयत्न नै गरिनँ। त्याे कुरा आज पनि दिमागमा अडेकाे छ।

त्याे दिन मेराे कलेजकाे अन्तिम दिन थियाे। मलाई अन्तिम पटक सिइओ सरलाई भेट्न मन लाग्याे। म सर्टिफिकेट हातमा बाेकेर म सिइओ सरलाई भेट्न उहाँको कार्यकक्षमा गएकाे थिएँ। सरले मलाई देख्ने बित्तिकै खुसी भएर भित्र बेलाउनुभयाे। मलाई मेराे सफलताकाे लागि बधाई दिनुभयाे। केही बेरकाे भलाकुसारी पश्चात् म दाेस्राे पटक फेरि सरकाे समीपमा राेएकाे थिएँ।

त्याे बेलाकाे रुवाइ ‘सर मलाई एक माैका दिनुस्’ वाला थिएन। थियाे त केवल खुसीकाे आँसु, सफलताकाे आँसु थियाे। त्याे बेलामन सर पनि निकै भावुक हुनु भएकाे थियाे।

अन्तिममा निस्किने बेलामा सरले मलाई धेरै कुरा सम्झाउनु भएकाे थियाे। यही स्प्रिटमा यसरी नै पढ्याै र राम्राे मेडिकल ईन्ट्रान्सकाे तयारी गर्‍यौ भने तिमीले पक्कै नाम निकाल्न सक्छाै भन्नु भएकाे थियाे। फेरि तिमी दुर्गम क्षेत्रकाे रिजर्भेसनमा पनि पर्छाै। त्यसैले ओपनलाई भन्दा तिमीलाई नाम निकाल्न अलिक सजिलाे हुन्छ भनेर सम्झाउनु भएकाे थियाे। मैले साेच्दै नसाेचेकाे कुरामा सरले मलाई ध्यानाकर्षण गराउनुभएकाे थियाे। मान्छेले कुनै बेला बाेलेकाे कुरामा भगवानकाे बाेली हुने र बाेलेकाे कुरा लाग्ने हुन्छ भन्थे आज यसाे सम्झिँदा हाे कि जस्ताे पनि लाग्छ।

हामी अलिकता दु:ख सहन सक्दैनौं। हामीलाई हरेक सफलताका कहानीहरु दु:ख नगरेरै उपलब्ध भएकाे हाेला जस्ताे लाग्छ। हामी आफ्नाे गल्ती र कमजाेरीलाई छाेप्न अनेकौं बाहना खाेज्छाैँ। केही कुरा सकिएन भने अरुलाई दाेस दिन तम्सिन्छाैं। हाे, अझैसम्म पनि नेपालका दुर्गम बस्तिहरूमा राम्रा विद्यालयहरु छैनन्।

अझैसम्म पनि राम्रा शिक्षक पाउन मुस्किल छ। विद्यार्थीहरुले आफ्नाे बेस राम्राे बनाउन सकेका छैनन्। के त्यसैलाई आफ्नाे कमजाेरी ठानेर काेसिस नै नगर्ने त ? तिनै स्कुललाई बेस बनाएर कैयौं व्यक्तित्वहरू सफल भएका छन्। आज देशका महत्त्वपूर्ण निकायहरूमा तिनै स्कुलका विद्यार्थीहरू पुगेका छन्। म फलानाे स्कुलमा पढेँ, राम्राे स्कुल पाइनँ, राम्राे शिक्षक पाइनँ भनेर क्षमायाचना गर्नुकाे साटाे त्यसलाई अवसरकाे रुपमा लिएर कडा मेहनत गर्नु पर्दछ। त्यसैले त राज्यले दुर्गम, जनजाति, पिछडिएको वर्ग, दलितहरूलाई रिजर्बेसनकाे व्यवस्था गरेकाे छ। त्याे पर्याप्त हाेला नहाेला त्याे छुट्टै बहसकाे विषय हाे।

म कुनै समय काठमाडौंबाट भाग्न खाेजेकाे थिएँ। परिवार र आफन्तहरुका सपनाहरुबाट टाढा हुन खाेज्दै थिएँ। सायद, त्याे बेला म काठमाडौंदेखि भागेकाे भए आज १५ वर्षपछि काठमाडौंमै बसेर गर्वका साथ यी भावनाहरू काेर्ने माैका पाउँदिन्थे हाेला। सायदै त्याे बेलामा पढ्न सकिनँ भनेर कलेज छाेडेर जुम्ला गएकाे भए आज काठमाडौंलाई नै कर्मथलाे बनाउन पाउँदिन्थे हाेला। काठमाडौंले नेपाललाई प्रतिनिधित्व गर्दछ, नेपालकाे राजधानी हाे, काठमाडौं। यहाँ हामीले कुमालेकाे माटाे जस्ताेसुकै पनि बनाउन सक्छाैं। काठमाडौं गर्छु भनेर लाग्नेहरुकाे लागि अथाह सम्भावना बाेकेकाे सहर हाे।

मेराे लागि १५ वर्ष अघिकाे त्याग, तपस्या र कडा मेहनतकाे प्रतिफल आज म काठमाडौंकाे गाेगंबुमा आफ्नै डेन्टल क्लिनिक खाेलेर यहाँ बस्ने सारा नेपालीहरुलाई सेवा दिइरहेकाे छु। अझै हासिल गर्न पर्ने उपलब्धिहरू उत्तिकै छन्। अझै सिक्नपर्ने कुराहरू धेरै नै छन्। जिन्दगीमा अझै दिनपर्ने परीक्षाहरू धेरै बाँकी छन्। हुन त जिन्दगी पनि आफैंमा एउटा परीक्षा नै हाे।

प्रकाशित मिति: : 2022-08-19 21:45:00

प्रतिकृया दिनुहोस्