संगीतिक क्षेत्रका धमाका–रुकमान

ममता आचार्य

काठमाडौं

नेपाली संगीत क्षेत्रमा चर्चित नाम हो, रुकमानलिम्बू। करिब ६ दर्जन बढी गीत गाएका उनी दर्शकको मन जित्न सफल भएका छन्। त्योसँगै उनी नृत्य गर्नमा पनि उतिकै माहिर छन्। १० वर्षको उमेरदेखि नै गाउँ घरमा नृत्य गरेर चर्चित बनेका  रुकमानलिम्बूसँग बिएल नेपाली सेवाका लागि ममता आचार्यले गरेको अर्न्तवार्ता:

सानैदेखि नृत्यमा चासो राख्नु हुन्थ्यो। तर कसरी संगीतिक क्षेत्रमा आउनुभयो त?

पहिले गाउँमा हुँदा धेरै नृत्य गरेँ। अग्रजहरुले गाउनु भएको गीतमा पनि नाचेँ। तर पछि उहाँहरूकाे गीत सुन्दै गएँ। अनि मलाई पनि गीत गाउने रहर आयो। अहिले नाच्नुभन्दा पनि गाउनु नै मेरो रूचीको विषय बनेको छ। 

तपाईंको बुबा त लाहुरे हुनुन्थ्यो,  लाहुरेको छोरा भएरपनि संगीत क्षेत्रमा आउने अवसर कसरी मिल्यो?

मेरो बुबा ब्रिटिस लाहुरे हुनुहुन्थ्यो। त्यसैले मलाई लाहुरे हुन आग्रह गर्नुभएको थियो। लाहुरेको छोरा भएरपनि काेही कलाकार बन्छ भनेर घरबाट कराउनुहुन्थ्यो। तर मेरो इच्छाका कारण मलाई मेरा परिवारले रोक्नुभएन अनि म यो क्षेत्रमा आएँ। अहिले मलाई उहाँहरुले धेरै सर्पोट गर्नुभइरहेको छ। 

संगीत क्षेत्रमा आउनका लागी तपाईंले के–कस्ता संघर्ष गर्नुभयो?

यदी कोही व्यक्ति सफल बन्छ भने उसको पछाडिको कारण संघर्ष नै हुन्छ। त्यसैले मैले पनि यहाँ आउनका लागि धेरै संघर्ष गरेँ। सुरुका दिनमा मलाई धेरै गाह्रो भयाे। घरमा ढाटेर गीत गाउन सिकेकाे थिएँ। 

तपाईंको कुन गीतले तपाईंलाई चिनारी दियो?

मेरो पहिलो एल्बम थियाे–‘तिमी पारी म वारि’। मैले त्यसमा मेरो स्वर दिएको थिएँ। त्यहीँ गीतले नै सबैलाई रुक्मानले पनि यस्तो गीत गाउन सक्ने रहेछ भनेर चिनारी दियो। त्यसपछि मैले डम्बर नेपाली दाइको शब्द रहेकाे संगीत ‘तिमीलाई म के भनु’ भन्नेमा पप गीत गाएँ। यसले मलाई अझ बढी परिचित बनायो।

तपाईंले हालसम्म कति वटा गीत गाउनुभएको छ? त्यसमध्ये तपाईंलाई मनपर्ने कुन हो र किन? 

मैले हालसम्म ७० देखि ८० वटा गीत गाइसकेको छु। जसमध्येको मेरो मनपर्ने गीत हाे, ‘तिमीलाई म के भनु'। याे गीत प्रेमसँग सम्बन्धित छ, त्यसैले मलाई यो गीत असाध्यै मनपर्छ।

तपाईं गीत गाउनका साथैै अभिनय गर्नमा  पनि उत्तिकै सिपालु हुनुहुन्छ, तपाईंकाे रूचीकाे विषय चाहिँ के हाे? 

मेरो रुची भनेकै गायन हो। मोडलिङमा म पूर्ण पनि छैन। यो गर्न त्यति सजिलो पनि छैन। र म आफूलाई पनि गायक भन्न नै मन पराउँछु। 

आजभोलि दर्शकहरुले युट्युबको ट्रेन्डिङमा आएको गीत मात्र चलेको भन्नुहुन्छ, यसमा तपाईं के भन्न चाहनुहुन्छ? 

अहिलेकाे समय नै ट्रेन्डिङको छ। त्यो राम्रै पक्ष हो। तर ट्रेन्डिङमा पुगेका सबै गीतहरु राम्रो र सफल भन्ने हुँदैन। मेरो विचारमा ट्रेन्डिङमा आएका गीतहरु सबै उत्कृष्ट हुँदैन। गीतकाे 'लेबल' मिलेपछि मात्र उत्कृष्ट मानिन्छ। 

तपाईंले पछिल्लो समय ‘समायोजन’ एल्बम  निकाल्नु भएको छ, जहाँ तपाईंले दिपक लिम्बूलाई रोज्नुभएको छ, किन?

मलाई मनपर्ने कलाकारमध्ये एक हुनुहुन्छ, दिपक लिम्बू। उहाँको म पहिल्यैदेखिको ठूलो फ्यान हुँ। उहाँसँग सहकार्य गर्न मन थियो। आजभोलि दाइको गीतहरु पनि त्यति आएको छैन। स्वरको धनी हुनुभएको कारण नै मैले दाइलाई रोजेको हो। 

समायोजनबाट दर्शकको कस्तो प्रतिक्रिया पाइरहनुको भएको छ?

दिपक दाइले अरुबेला गाइरहनु भएको गीतकै लयमा छ, समायोजन। जति जनाले हेर्नू र सुन्नु भएको छ। सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। मैले जति आशा गरेको थिएँ। त्यो मैले पाइरहेको छु।

आगामी दिनहरुमा के गर्ने योजनामा हुनुहुन्छ?

मलाई अहिले २, ३ वटा चलचित्रबाट प्रस्ताव आएको छ। नयाँ गीतहरु पनि अझै ल्याएर आउने तयारीमा छु। मेरो गायन, अभिनय र मेरो म्युजिक कम्पनिलाई भोलिको दिनमा कसरी राम्रो बनाएर लैजान सक्छु भन्ने योजना बनाइरहेको छु। 

अन्तिममा दर्शकहरुलाई के भन्न चाहानु हुन्छ?

हाम्रो सृजनालाई हिजोको दिनमा जसरी माया गरेर अगाडि बढाउनु भएको थियो। भोलिका दिनमा पनि त्यस्तै माया, साथ र सपोर्ट गरिदिनु हुन्छ भन्ने आशा गरेको छु। सम्पूर्ण दर्शकहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु।

प्रकाशित मिति: : 2022-09-02 08:10:00

प्रतिकृया दिनुहोस्