प्रभावकारी भएन मतदाता शिक्षा

हिमाली जिल्ला डोल्पाका नागरिकहरुले मतदाता शिक्षा नपाएको गुनासो गरेका छन्।

निर्वाचन आउन १० दिनमात्र बाँकी रहँदा मतदाता शिक्षा दिन गाउँघरमा कोही पनि नआएको उनीहरूकाे गुनासाे छ।

जिल्ला निर्वाचन कार्यालय डोल्पाले गत १७ गते देखि नै सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका लागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन्।

निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट बञ्चित हुनु परेको त्रिपुरासुन्दरी नगरपालिकाका–१ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए।

'गाउँघरमा अधिकाशंलाई मत हाल्ने तरिका थाहा छैन,स्वाथ्य स्यमं सेविकाहरु मतदाता शिक्षा दिन आउने कुरा थियो,तर अहिलेसम्म पनि कोही पनि आएका छैनन्' उनले भने।

पहिला नसिकेरै सिधै मतदान गर्न जाँदा मत बिग्रने सम्भावना धेरै हुने उनको भनाइ छ।

उपल्लो डोल्पामा पुग्दैन मतदाता शिक्षा

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा भने विगत देखिका कुनै पनि निर्वाचनमा मतदाता शिक्षा नपुग्ने गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्।

डोल्पो बुद्ध,छार्काताङ्सोङ्, शे–फोक्सुण्डो गाउँपालिकामा मतदाता शिक्षा सम्बन्धि कुनैपनि कार्यक्रम नपुग्ने गरेको उनीहरुको भनाइ छ।

उपल्लो डोल्पाका अधिकाशं नागरिकक अशिक्षित छन्। शिक्षाको अवसर बञ्चित रहेका उपल्लो डोल्पामा धैरजसोलाई मत हाल्ने तरिकानै थाहा नभएको छार्काताङ्सोङ् गाउँपालिकाका–१ का अध्यक्ष धावा लावाङ्गले बताए।

'कसरी मतदान गर्ने विषयमा जानकारी नभएकै कारण उपल्लो डोल्पामा मत बदर हुने गरेको छ,गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि मतदाता शिक्षा दिन कोही पनि आएनन्' उनले भने।

यस पटक पनि मतदाता शिक्षा दिन निर्वाचनका कोही कर्मचारीहरु पनि नआएको उनले बताए।

मतदाता शिक्षा प्रभावकारी भएनः मुख्य निर्वाचन अधिकृत

मतदाता शिक्षाको उदेश्य भनेको कमभन्दा कम मत बदर होस भन्ने रहेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्ने बित्तिकै मतदाता शिक्षा लागू हुनुपर्ने उनको भनाइ छ।

कर्मचारी खटनपटन गरेर कर्मचारी मतदान केन्द्रमा जाने बेला निर्वाचन शिक्षा लागू हुँदा दुर्गममा धेरै भन्दा धेरै मत बदर हुने गरेको उनले बताए।

उनले डोल्पाको उत्तरी क्षेत्रमा एउटै गाउँबाट अर्को गाउँमा जाँदा मात्रै तीन चार दिन लाग्ने गरेकाले पनि आयोगले अन्य समयमा पनि मतदाता शिक्षा लागू गर्नुपर्ने उनको भनाइ छ।

मतदाता शिक्षा प्रभावकारी नभएकै कारण प्रत्येक निर्वाचनमा धेरै मत बदर हुने गरेको उनको भनाइ छ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुदा प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो मत आफै हाल्न नपाउने र सामान्य व्यक्तिले समेत वारिसे मत हाल्न लगाउने गरेको समेत सरोकारवालाको भनाइ छ।
 

प्रकाशित मिति: : 2022-11-10 12:39:00

प्रतिकृया दिनुहोस्