तनहुँमा निर्वाचनको तयारी पूरा

File Photo
File Photo

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नम्बर १ र २ मा खटिने मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरिएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका तीन सय चार र क्षेत्र नम्बर २ अन्तर्गतका तीन सय छ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम सम्पन्न भएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताएका छन्।

तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएकाे छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएकाे छ।

मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के–के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ।

मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। केसीले आचारसंहिता बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै उनले भने, 'निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्षरुपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ।'

प्रकाशित मिति: : 2022-11-14 06:34:00

प्रतिकृया दिनुहोस्