देबचुलीमा भोलि नै मतदान

पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको त्यो वडामा भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिए।

स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत बिद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो। त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए।

गौतमका अनुसार त्यहाँका नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए। अन्य तीनवटा पत्रमा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन (शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन्।

नौ सय ८० मतदाता रहेको त्यो निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो। उनले मतपेटिकामा बडिलोसन दलेर मतपेटिकामा खसाएको बयान दिएका छन्। आगजनी गरेपछि भण्डारी भागेका थिए।

उनलाई दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रजिअ सुमन घिमिरेले बताए।

प्रकाशित मिति: : 2022-11-20 19:33:00

प्रतिकृया दिनुहोस्