राजनीति रमाइलो गर्ने ठाउँ हाेइन : केपी ओली

File Photo
File Photo

एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गरेका छन्।

४ मंसिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै उनले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।

झापा ५ बाट अत्याधिक मतले विजयी भएपछि प्रमाणपत्र लिन पुगेका ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताए।

उनले भने, ‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन्। राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो।’ उनले धेरैजसो स्थानमा निश्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिए।

सो अवसरमा उनले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नु पर्ने बताए। मतदाताप्रति नै आसंका गर्दै उनले भने, ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौ की। मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ।’

उनले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताए। यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उनको भनाइ छ।

उनले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताए। मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताए।

उनले भने, ‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ। अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ।’ फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उनको भनाइ छ। यसले देश थप अस्थिरतातर्फ जाने उनले असंका गरे।

उनले सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको आरोप पनि लगाए। चुनाव जित्न घरमा बसेका मान्छे तानेर लगेर मार्ने काम सरकारले गरेको आरोप लगाए। उनले भने, ‘लोकतन्त्र भन्ने व्यवहारमा अपराधतन्त्र देखाउनु हुँदैन। हामी शान्ति र लोकतन्त्रमा विश्वास गर्छौ। यो हामीले कार्यान्वयन पनि गरेका छौं। लोकतन्त्र मन्त्र होइन यो जीवन पद्धति हो।’ उनले लोकतन्त्रको पवित्रतालाई जोगान आग्रह गरे।

कार्यक्रममा बुथ क्याप्चर र धाँधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराए। 

प्रकाशित मिति: : 2022-11-24 15:57:00

प्रतिकृया दिनुहोस्