अहिलेको जनादेश मुलुकको भविष्यका लागि चुनौतिपूर्ण छ : पोखरेल (भिडियाेसहित)

नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित शंकर पोखरेलले अहिलेको जनादेशले मुलुक थप जोखिममा परेको बताएका छन्।

गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी केन्द्रिय सदस्य रेखा शर्मासँग १९७ मतले पराजय भोगेपछि घोराहीमा पत्रकार सम्मेलन गर्दै पोखरेलले यस्तो बताएका हुन्।

उनले अहिले कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन नसकेको र यसले देशलाई थप अस्थितर बनाउने बताए।

उनले भने, ‘जनादेशको सम्मान त छ नै, तर जुन प्रस्थितिको जनादेश छ यसले मुलुकको लोकतान्त्रिक भविष्यका लागि अझ जोखिम र चुनौतिपूर्ण छ भन्ने कुरा स्पष्ट छ।’

मुलुकलाई सहि दिशामा लग्नका लागि आफू थप कृयाशील भएर लाग्ने पोखरेलले बताए।

‘जे भयो अब समिक्षाको विषय मात्र रह्याे। मैले हारे पनि राजकीय जिम्मेवारीबाट टाढा रहने मात्र हो,’ उनले भने, ‘अब मलाई थप पार्टीलाई सुदृढ गर्ने र मुलुकलाई सहि दिशामा लाग्नका लागि कृयाशील हुने समय मिलेको छ।’

पोखरेलले देशमा पार्टी ध्रुविकरणको उदेश्य अहिलेको जनादेशले पूरा हुन नसकेको भन्दै नयाँ राजनीतिक शक्ति स्थापनाले नयाँ राजनैतिक चुनौति उत्पन्न भएको बताए।

उनले मुलुकको विकासका लागि धेरै राजनीतिक शक्ति नभएर बलियो राजनीतिक शक्ति आवश्यक भएकाे बताए।

फरक प्रशंगमा पोखरेलले आफूहरु सरकारमा भएको समयमा दाङलाई समृद्ध बनाउने गरी योजनाहरु पार्न सफल भएको भन्दै अझै पूरा गर्न बाँकी रहेको बताए।

बाँकी रहेका योजनाहरु निर्वाचित जनप्रतिनिधिले पूरा गरेमा आफूले हारेकोमा कुनै फरक नपर्ने उनको भनाई थियो।

उनले दाङमा स्थायी राजधानी निर्माणलाई निर्वाचित जनप्रतिनिधिले प्राथमिकतामा राख्नुपर्ने बताए।

यस्तै घोराही–तुलसीपुर सडक निर्माण, सुविधा सम्मपन्न एयरपोर्ट, औद्योगिक क्षेत्र निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल शिक्षा पढाई र दाङमा त्रिभुवन विश्वविद्यालय अन्तरगतको ईन्जिनियरिङ कलेज स्थापना हुनुपर्ने भन्दै यी योजना पूरा भएमा आफूले नजिते पनि केहि फरक नपर्ने बताए।

प्रकाशित मिति: : 2022-11-25 16:11:00

प्रतिकृया दिनुहोस्