यी हुन् प्रदेशसभाबाट प्रतिनिधिसभामा प्रवेश गर्ने र रोकिनेहरू

BreaknLinks
BreaknLinks

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित  भएका हुन्।

गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को मुख्यमन्त्रीसमेत भइसकेका भीमप्रसाद आचार्य यसपटक सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

विसं २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका महेन्द्रबहादुर शाही यसपटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए।

गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका पृथ्वी सुब्बा गुरुङ यसपटक भने प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए।

विसं २०७४ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठ यसपटकको निर्वाचनमा काठमाडौँ ८ बाट सांसद पदमा विजयी भएका छन्।

गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका श्रेष्ठ यसपटक स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

त्यसैगरी, सल्यानको प्रदेशसभा सदस्यमा निर्वाचित भएका प्रकाश ज्वाला यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। गत निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्रीसमेत बनेका थिए।

विसं २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५ (२) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

विसं २०७४ को निर्वाचनमा सिन्धुलीबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका लेखनाथ दाहाल यसपटक सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

विसं २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रदेशसभामा निर्वाचित सरेश नेपालले यसपटक प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएपनि माओवादीका माधव सापकोटाबाट पराजित भएका छन्। नेपाल यसअघि वाग्मती प्रदेशको मन्त्रीसमेत भएका थिए।

विसं २०७४ को निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को पहिलो मुख्यमन्त्री निर्वाचित भएका शेरधन राई यसपटक भोजपुरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का सुदन किरातीबाट पराजित भएका हुन्।

यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्य निर्वाचित मणिराम फुँयालले काठमाडौँ २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का तर्फबाट टिकट पाएका थिए। उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएका छन्।

प्रकाशित मिति: : 2022-11-29 16:17:00

प्रतिकृया दिनुहोस्