हिमाको १३औं हिउँदे गाउँसभा : उत्कृष्ट काम भएको टिप्पणी

हिमा गाउँपालिकाकाे १३औं हिउँदे गाउँसभा सम्पन्न भएकाे छ। गाउँसभामा सहभागीले हिमा सरकार जिल्लामा उत्कृष्ट रहेकाे बताएका छन्।

नियमित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन, सामाजिक सुरक्षा भत्तालाई सरल र सहज बनाउनु र नागरिकलाई राहत हुने गरी विकास निर्माणका गतिविधि सञ्चालन गर्नुले पालिका उत्कृष्ट बन्दै गएकाे छ।

नेकपा एकीकृत समाजवादीका भैवहादुर रोकायाले वर्तमान सरकारले राम्रो काम गरेको हुनाले समर्थन रहेको बताए। उनले भने, 'प्रतिपक्ष दलहरुले विरोध मात्रै नगरी राम्रो कामको प्रशंसा पनि गर्न सक्नुपर्छ।'

यसैबीच गाउँसभाले युवा विकास समिति नियम २०७९ पास गरेको छ। हिमा गाउँपालिका जुम्लामा रहेका युवाहरुलाई रोजगारी सृजना गर्ने र युवाका क्षेत्रमा काम गर्नको लागि युवा विकास समिति नियम पास गरिएको अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।

'हामीले गाउँसभाबाट निर्माण व्यवसायिक कार्यविधि, २०७९ र निर्माण व्यवसायी ऐन, २०७९ गाउँसभाबाट पारित गरिएको छ,' अध्यक्ष शाहीले भने, 'सेवा करारका कर्मचारीहरुको म्याद थप, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक प्राविधिक कर्मचारीको विगत साढे २ वर्षदेखि स्थगन गरिएको विज्ञापन रद्ध गरी नयाँ विज्ञान गर्ने विषय पनि गाउँसभाबाट पास गरिएकाे छ।'

हिमा गाउँपालिकाकाे हिउँदे गाउँसभाबाट दिगो खानेपानी तथा सरसफाइ स्वच्छता परियोजना सुस्वाको आयोजना र कार्यक्रम स्वीकृत तथा समर्थन, आर्थिक वर्ष २०७८/०७९ को लिसा र फारा मूल्याङ्कन, सूचना प्रविधि अधिकृतको पारिश्रमिक र स्थानीय भत्ता, कर्मचारीको जिम्मेवारी र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट आएका योजनाहरुको कार्यान्वयन गर्ने लगायतका विषयहरु गाउँसभाबाट पारित भएको छ।

हिमा गाउँपालिकाले निर्माण गरेको काठेपुलबाट अन्य कगाउँपालिकाले सिकाे गर्दै पुलाहरु निर्माण गर्दा सबै क्षेत्रका नागरिकले राहत पाउनु आफ्नाे सरकारका उपलब्धि भएकाे शाहीले बताए।

यस्तै १३औँ हिउँदे गाउँसभामा उपाध्यक्ष सुर्पना शाहीले वर्तमान सरकारले गरेको २१ बुँदे कामको विवरण पेश गरेकी थिइन्। 'वडा नम्बर १ को मालिङ्गेमा फोरजी टावर सञ्चालन, नाम्म खोला काठेपुला निर्माण, वडा नम्बर ४ र ७ का वडा कार्यालयहरुको जग्गा पास तथा वडा कार्य सञ्चालन, स्वास्थ्य विमा कार्यक्रमकाे पूर्ण कार्यान्वयन, गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म राष्ट्रिय प्रशारण लाइन पुराउन सफल भएकाे छ,' उनले भनिन्।

उनका अनुसार पालसकाले सुत्केरी महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, असोज तेस्रो साता परेको अविरल वर्षाले अवरुद्ध भएका ग्रामीण सडक सञ्चालन, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई घर आगनमै स्वास्थ्य सेवा दिन सफल, वडा नम्बर २ को रिखिदेउ र ७ को धाँचु गाउँमा स्वास्थ्य इकाई स्थापना, रुपाकोट आधारभुत विद्यालयमा चार कोठे पक्की भवन सञ्चालन, कालिका मा.वि. बड्कीमा चार कोठे र दुई कोठे पक्की भवन सञ्चालन, ग्रीन रोड ग्रीन रिभर कार्यक्रमको प्रारम्भ, बाढीपहिरो पीडित परिवारलाई राहत वितरण, डिजिटल सूचना बोर्ड स्थापना हिमाका उल्लेख्य उपलब्धि हुन्।

हिमा सरकारका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष रतनबहादुर शाहीले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सफल रहेकाे बताए। छोटो समयमा हिमा सरकारले गरेको कामले गर्दा आम नागरिक खुसी भएको उनको भनाइ छ।

'गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म रहेको बैँकसम्म सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकलाई यातायात सेवा दिएका छाैं,' उनले भने।

वडा नम्बर ७ का वडाध्यक्ष विक्रम बहादुर शाहीले वडा कार्यालयबाट सेवा दिँदै नागरिकका समस्या हल गर्न सफल भएको दावी गरे। उनका अनुसार हिमाका ४४३ घरपरिवारको सुरक्षित नागरिक आवास कार्यक्रमबाट छाना फेरिनेछ।

सुरुवाती चरणमा राम्रो कामको अभ्यास गरेकाे हिमाले पाँच वर्षको अवधिमा जनताका आधारभुत समस्या हल गर्ने अध्यक्ष शाहीकाे दृढ विश्वास छ। उनले थपे, 'राजनीतिक हिसाबमा आफ्ना पराइ नभइ हिमाको विकास र समृद्धिका लागि सबैसँग समन्वय र सहकार्य सरकारले गर्नेछाैं।'

प्रकाशित मिति: : 2023-01-04 12:53:00

प्रतिकृया दिनुहोस्