जुम्लामा अन्तर्राष्ट्रिय धावक हरी राेकायाकाे नाममा रंगशाला

BreaknLinks
BreaknLinks

जुम्लामा १३ कराेड लगानीकाे रंगशाला बन्ने भएकाे छ। खेलकुदमा उल्लेख्य उपलब्धि हासिल गर्दै जाँदा व्यवस्थित रंगशालाकाे माग हुँदै आएकाे थियाे।

ठुला स्तरका खेलकुद आयाेजना तथा अभ्यासका लागि रंगशाला निर्माण हुने भएकाे छ। जुम्ला घर भएका अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकायाकाे नाम दिइएकाे रंगशालाकाे टेन्डर आह्वान भएकाे छ।

कर्णालीका पाखा पहरामा अभ्यास गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल राेकाया त्यतिमै सीमित छैनन्। उनले आफू जस्तै अरु खेलाडी उत्पादनमा समय दिएका छन्।

विश्व चर्चित खेलाडी दुर्ग बुढा, सुनमाया बुढा, विश्वरुपा बुढा, राममाया बुढाफ मञ्जु बुढा, सीता न्याैपाने, प्रकाश कठायतलगायत खेलाडी उत्पादनकाे जस रोकायालाई नै जान्छ।

उनले राेड, डाँडापाखामा गराएकाे अभ्यासले सफलता हासिल गर्दै जाँदा जुम्लामा व्यवस्थित रंगशालाकाे निर्माण माग हुन थालेकाे थियाे। अभ्यास गर्ने उपयुक्त स्थान नहुँदा खेल क्षेत्रमा आफ्नाे भविष्य देखेका खेलाडीहरु निराश थिए।

अबको दुई वर्षपछि भने जुम्लामा सुविधायुक्त रङ्गशाला बन्ने भएकाे छ। खेल क्षेत्रले बनाउँदै गरेकाे स्पेसलाई मध्यनजर गर्दै जुम्लामा सुविधायुक्त अत्याधुनिक रङ्गशाला निर्माण हुने भएको हाे।

जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिका वडा नं ५ स्थित राजसिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको १३ करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण गर्न लागेकाे छ।

'खेल क्षेत्रबाट जुम्लाले हासिल गरेकाे प्रसिद्ध र उपलब्धिलाई ध्यानमा राखी रंगशाला निर्माणमा राज्यले लगानी गर्दैछ, 'सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले भने, 'याे कर्णाली प्रदेशकै नमुना रङ्गशाला बन्नेछ।'

उनका अनुसार १३ करोड लगानीमा बन्ने रङ्गशालाका लागि टेण्डरसमेत आह्वान भइसकेको छ। खेलाडी उत्साहित हुनेछन्।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिकामा ठुलो लगानीमा रङ्गशाला बन्न लागेको हो। कुल ५० करोड लगानीमध्ये १३ करोड लागतमा रङ्गशाला निर्माण हुनेछ भने बाँकी ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना बन्ने छन्।

रङ्गशाला निर्माणलाई प्रदेश गौरवकै आयोजनाका रुपमा समेत हेरिएको र यसबाट जुम्लाले खेल क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्ने विश्वास रहेकाे सब-इन्जिनियर खड्काले बताए।

आफ्नाे नामकाे रंगशाला निर्माण हुने भएपछि खुसी भएकाे अन्तर्राष्ट्रिय धावक राेकायाले प्रतिक्रिया दिएका छन्। तर, उनले आफ्नाे नामकाे भन्दा पनि कामअनुसारको रंगशाला बने थप खुसी हुने बताए।

'मेराे नाममा बन्ने रंगशालाकाे आयाेजनाकाे नाम फुटबल रंगशाला भनिएकाे छ। यसका चार सय मिटरकाे टाटान ट्रयाक पनि बनाउन हामीले आग्रह गरेका छाैँ,' धावक राेकायाले भने, 'यसाे हुन सक्याे भने मेराे नाममा निर्माण हुने रंगशाला मेराे कामअनुसार प्रयाेगमा आउने थियो।'

रंगशाला बन्ने भएपछि उत्साहित भएका खेलाडीले सुविधा सम्पन्न रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउनुपर्नेमा जाेड दिएकाे कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीले बताए।

उनले भने, 'अहिले बन्न लागेकाे रंगशालाकाे स्टेटमेन्ट हेर्दा दाैडिने अभ्यास गर्नलाई २ सय ९० मिटरकाे ट्रयाक देखिन्छ। अन्तर्राष्ट्रिय स्तरकाे रंगशालामा कि दुई सय मिटरकाे कि त चार सय मिटरकाे ट्रयाक हुन्छ। त्यसैले खेलाडीले भाेलि अन्तर्राष्ट्रिय स्तरकाे खेलकुद जुम्लामा आयाेजना गर्न सकिने हिसाबले रंगशाला निर्माण भए उपयुक्त हुने विचार राखिरहेका छन्।'

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले भने, 'खेलाडीले स्वाभाविक माग राखे पनि सार्वजनिक जग्गामा नुहँदा साेचेअनुसारको ट्रयाक बन्न नसक्ने हाे। तैपनि यसलाई कसरी हुन्छ राम्राे बनाउन सकिन्छ भन्ने विषयमा साेचिरहेका छाैं।'

थप जग्गा लिन सक्ने स्थिति नहुँदा खेलाडी र हरि राेकायाले साेचेअनुसार रंगशालामा टाटन ट्रयाक राख्नलाई समस्या हुने चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।

'सरकारले छुट्याउने बजेटले जग्गा किन्न पाउने प्रावधान छैन। व्यक्तिगत जग्गा कसैले मान्दैनन्,' उनले भने, 'अब हामीले उपलब्ध जग्गामै सुविधासम्पन्न रंगशाला निर्माण गर्ने साेचिरहेका छाैं।'

सबै खाले खेलकुदका लागि एथलेटिक्स महत्वपूर्ण मानिने र जुम्लाले एथलेटिक्समै ठुला उपलब्धि हासिल गरेकाे हुँदा टानन ट्रयाक माग गरेकाे अन्तर्राष्ट्रिय धावक राेकायाले बताए। 

'रङ्गशाला निर्माणकाे कुरा बाहिरिएसँगै हामीलाई विभिन्न दुशबाट अभ्यासका निम्ति जुम्ला आउँछाैँ भनेर प्रस्ताव आइरहेकाे छ,' उनले भने, 'संसारभरिबाट हाइअल्टिच्युमा ट्रेनिङ गराउन जुम्लामा बन्ने रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ। हामी सराेकारवाला सबैलाई आग्रह गरेका छाैं। मलाई लाग्छ, काम सकारात्मक ढंगबाट अगाडि बढ्नेछ।'

प्रकाशित मिति: : 2023-01-04 17:42:00

प्रतिकृया दिनुहोस्