छात्रवृत्ति दिएर लोकसेवा पढाउँदै शे–फोक्सुण्डो गाउँपालिका

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ।

एसईई र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिका कोषबाट छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको हो।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरीब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सिमान्तकृत लगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए।

पन्ध्र दिने सुचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अंङ्क तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताए।

गाउँपालिकाको कार्यविधिअनुसार राम्रो ग्रेड ल्याएका २७ जना व्यक्तिलाई मात्र छात्रवृत्ति लागि छनोट गरिने उनको भनाई छ। प्रथम र दोस्रोपत्रको तयारी गरुञ्जेल लाग्ने खर्च सबै गाउँपालिकाले बेहोर्ने बताइएको छ।

गाउँपालिकाले अघिल्लो पटक पनि छात्रवृत्ति दिएर लक्षित वर्गलाई लोकसेवा पढाएको थियो। दुर्गमबाट पनि निजामती सेवामा प्रवेश गर्ने मौकासँगै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको यस्तो कार्यको सबैले प्रशंसासमेत गरेका छन्।

प्रकाशित मिति: : 2023-01-11 12:03:00

प्रतिकृया दिनुहोस्