अब रवि लामिछाने पक्राउ पर्नसक्छन् ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको विपक्षमा फैसला सुनाएको छ। अदालतकाे याे फैसलापछि रविले एकैपटक चार पद गुमाएका छन्। भने, अब उनलाई पक्राउ गर्ने बाटाे पनि खुलेकाे छ।

लामिछानेले आफूखुसी अमेरिकाको नागरिकता लिइ नेपाली नागरिकता त्याग गरिसकेपछि एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। गृह मन्त्रालयकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरो नागरिकता प्रयोगको सम्बन्धमा छानबिन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर जिम्मेवारी दिएकाे थियाे।

प्रहरी परिसर काठमाडाैँले उनकाे साे मुद्दामा अनुसन्धान जारी राखेकाे छ। प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अध्यागमन विभाग र नेपालस्थित अमेरिकी दूतावासलगायतका निकायमा पुगेर उनीबारे अनुसन्धान गरिरहेकाे छ।

रविले नेपाल आएपछि अमेरिकाकाे नगारिकता र पासपाेर्ट नत्यागी सन् २०१५ मा नेपालबाटै अर्काे नागरिकता बनाएका थिए। तर, नेपालकाे कानुनमा दाेहाेराे नागरिकता लिन मिल्दैन। रविले अमेरिकाकाे नागरिकता हुँदा हुँदै झुटाे विवरण पेश गरेर नागरिकता लिएकाे हुँदा उनीमाथि अनुसन्धान र कारबाही हुन सक्नेछ।

हालसम्म विभिन्न कारण अनुसन्धान बाहिर रहेका लामिछानेलाई शुक्रबारकाे सर्वाेच्चकाे फैसलापछि दाेहाेराे नागरिकता लिएकाे विषयमा अनुसन्धानकाे लागि पक्राउ गर्न सकिने छ।

यसरी झुटा विवरण पेश गरेर दाेहाेराे नागरिकता लिने व्यक्तिलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2023-01-28 06:49:00

प्रतिकृया दिनुहोस्