इरानमाथि अझ ‘क्रुर’ आक्रमण हुने ट्रम्पको चेतावनी
इजरेली सेनाले इरानमा आक्रमण गर्दै त्यहाँको नतान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्र र तब्रिजको विमानस्थलमा हमला गरेको छ।
इरानले पनि इजरायलविरुद्ध जवाफी कारबाही सुरु गरेको छ। शुक्रबार रातिदेखि इजरायलले इरानमाथि ‘निर्णायक आक्रमण’ सुरु गरेको घोषणा गरेको थियो। ब्लास्टिक मिसाइलहरूबाट इजरायली फौंजले इरानको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने नतान्जस्थित मुख्य युरेनिअम (परमाणु) प्रशोधन केन्द्र र बिमानस्थलमा आक्रमण गरेको थियो। यसलाई इजरायलले ‘अपरेशन राइजिङ लायन’ नाम दिएकाे छ।
इजरायलको आक्रमणबाट इरानको सबैभन्दा प्रमुख परमाणु केन्द्रमात्रै ध्वस्त भएको छ। त्योसँगै इरानले केही ठूला परमाणु बैज्ञानिक र आफ्ना सैन्य कमाण्डर पनि गुमाएको छ।
इरानका यो आक्रमणमा इरानका रिभोलुशनरी गार्डस्का प्रमुख हुसेन सलामी समेत मारिएका छन्। त्यस्तै इरानका बरिष्ठ परमाणु बैज्ञानिकहरू फिरेदून अब्बासी र मोहम्मद मेहदी पनि इजरायलको आक्रमणमा मारिएका छन्। अब्बासी इरानको परमाणु उर्जा संगठनका पूर्व प्रमुख हुन् भने मेहदी स्वतन्त्र इस्लामिक विश्वविद्यालयका अध्यक्ष हुन्।
इजरायली आक्रमणमा मारिएका हुसेन सलामी अहिलेसम्मकै सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन्। उनी सन् १८० मा इराकसँग युद्ध हुँदा उक्त रिभोल्युशनरीमा प्रवेश गरेका थिए। त्यसपछि उनी त्यही संगठनको प्रमुखसम्म भए।
उनकै नेतृत्वमा गत वर्ष इरानले इजरायलमाथि सयौं क्षेप्यास्त्र आक्रमण गरेको थियो। इजरायलले आक्रमणको तयारी गरेको सूचना पाएपछि अघिल्लो दिनमात्रै उनले इरान जुनसुकै परिस्थितिका लागि पनि पूर्णरुपमा तयार रहेको बताएका थिए।
इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईले इजरायलले यसको ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए। पछिल्लो आक्रमणबाट इजरायलले आफ्नो घृणित चरित्र देखाएको भन्दै उनले इजरायले आफ्नो अँध्यारो भविष्यलाई आफैले निम्तो दिएको बताएका छन्।
जवाफी कारबाहीमा इरानले पनि तेल अविव र जेरुसेलम क्षेत्रमा सयौं क्षेप्यास्त्र प्रहार गरेको छ। त्यसबाट कैयौं मानिस घाइते भएको सञ्चार माध्यमहरूले जनाएका छन्।
यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु कार्यक्रमका लागि सम्झौता गर्न तयार नभए इरानले अझ ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
इजरायलले अझ क्रुर र खतरनाक आक्रमणको तयारी गरिरहेको भन्दै उनले इरानी सरकारलाई तत्काल सम्झौताका लागि तयार हुन भनेका हुन्। अमेरिकाले इजरायललाई ठूलो परिणाममा सबैभन्दा घातक सैन्य हतियारहरू दिएको पनि ट्रम्पले बताएका छन्।
यसअघि ट्रम्पले सम्झौताका लागि इरानलाई ६० दिनको समय दिएका थिए। ६१ औं दिनमा इजरायलले इरानमाथि आक्रमण गरेको हो। तर ट्रम्पले यो आक्रमणमा अमेरिकाको कुनै पनि भूमिका नभएको पनि प्रस्ट पारेका छन्। यद्यपि इजरायलले आक्रमणबारे ह्वाइट हाउसलाई जानकारी भने गराएको थियो।
इजरायलले इरानमाथि आक्रमण गरेपछि लेबनानको हिज्बुल्लाह (आतंकवादी संगठन)ले इजरायलाई खरानी बनाइदिने चेतावनी दिएको छ। हिज्बुल्लाह अनि यमनको हुथी विद्रोहीजस्ता संगठनहरू इजरायलका लागि ‘दुश्मन’ जस्तै हुन्। इरानले यस्तै समूहलाई इजरायलमाथि आक्रमणमा सघाउने गर्छ।