डाेल्पामा राहत शिक्षक समिति जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा न्याैपाने

हिमाली जिल्ला डाेल्पामा राहत शिक्षक समिति जिल्ला शाखाकाे पाँचाै जिल्ला सम्मेलन सम्पन्न भएको छ।

शनिबार त्रिपुरासुन्दरी नगरपालिका १ वडा नं अन्तर्गत पर्ने त्रिपुराकाेटमा आयाेजित जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको हाे।

सम्मेलनबाट अध्यक्षमा पुर्णकेशर न्याैपाने सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा लक्ष्मी आचार्य,काेषाध्यक्षमा लिला पहाडी चयन भएका छन्। सचिवमा निम बुढा  र सह सचिवमा मनलाल बुढा चयन भएका छन्।

जिल्ला सम्मेलनबाट आफु सहित १६ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको नव निर्वाचित अध्यक्ष पुर्णकेशर न्याैपानेले जानकारी दिए। त्यतिमात्र नभई स्थानीय तहमा समेत कार्य समिति चयन गरिएको छ।

त्यसैगरि त्रिपुरासुन्दरी नगरपालिका राहत शिक्षक समितिकाे संयाेजकमा केशब उखेडा, ठुलिभेरी नगरपालिकाकाे संयाेजकमा निम बहादुर बुढा, शे-फाेक्सुन्डाेकाे संयाेजकमा मनलाल बुढा,जगदुल्ला गाउँपालिकाकाे राजकुमारी लामा र मुड्केचुला गाउँपालिकाकाे संयाेजकमा नवराज शाही चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ का अध्यक्ष तथा सामाजिक विकास तथा शिक्षा संयाेजक रामचन्द्र कुलालले स्थायी भन्दा पनि राहत शिक्षक धेरै सक्रिय भएर पठनपाठन गराउँदै आएको बताए।

शुद्व तलब भत्तामा पनि राहत शिक्षकले गुणस्तरीय रुपमा पठनपाठन गरिरहेकाले स्थायी र राहत भनेर राहत सरकारले विभेद गर्न नहुने बताए।

राहत शिक्षकका स्थानीय भत्ता लगायतका सेवा सुविधाका बिषयमा नगरपालिकाबाट गर्न सक्ने सहयोग हुने समेत प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका निवर्तमान सचिव मनबहादुर सार्की,नेपाली काङ्ग्रेस डाेल्पाका महाधिवेशन प्रतिनिधि देबीकृष्ण उपाध्याय,तरुण दल डाेल्पाका अध्यक्ष तुलबहादुर बाेहाेरा लगायतका अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे।

राहत शिक्षकहरुले स्थायी र अस्थायी शिक्षक बिच भएकाे संघिय शिक्षा ऐनमा दुर्गम भत्तामा भएकाे विभेदकाे अन्त्य हुनुपर्ने,आन्तरिक प्रतिस्पर्धाबाट स्थायीहुने व्यवस्था गर्नुपर्ने, शिक्षक सेवा आयाेगकाे प्रतिस्पर्धामा एकपटककालागि उमेरकाे हद लगाउन नहुने लगायतका माग समेटिनु पर्ने माग राखेका छन्।

कार्य समितिकाे पहिलाे बैठकबाट प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिने बताइएको छ।

प्रकाशित मिति: : 2023-03-18 18:30:00

प्रतिकृया दिनुहोस्