भेरी करिडोरमा ३६ करोड २५ लाखमा एकैपटक तीन पक्की पुल बन्दै

जाजरकोट–डोल्पा सडकखण्डमा एकैपटक तीनवटा पक्की पुल बन्ने भएका छन्। सडक विभागअन्तर्गतको पुल महाशाखाको ३६ करोड २४ लाख ८६ हजार सातसय लागतमा तीनवटा पक्की पुल बन्ने भएका हुन्।

सडकखण्डअन्तर्गत पर्ने जाजरकोट जिल्लाको नलगार्ड नगरपालिकामा पर्ने तल्नुबगर भेरी नदीमा, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने छलगार्ड खोला र सोही नगरपालिकामा पर्ने खदाङ्ग हरियापानी भेरी नदीमा पुलबन्न लागेको क्षेत्रीय पुल महाशाखा सुर्खेतका प्रमुख अभिमानदास मुल्मीले जानकारी दिए।

टेण्डर भएरपनि वाइ.पी एम.आर जेभीले निर्माणको जिम्मा पाइसकेकाले छ महिना भित्र निर्माणको काम सुरु हुने उनको भनाई छ। पुल महाशाखा र निर्माण कम्पनीबीच २०७९ साल १० महिना २६ गते सम्झौता समेत भइसकेकाले ४२ महिना भित्र तीनवटै पुल निर्माणको काम सक्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

यता कार्ड कन्सल्टेन्ट आएर सर्भे बबरमहलका सिनियर सर्भेएर चिरञ्जिबी आचार्यका अनुसार पुल बन्ने तीन स्थानको डिटेल सर्भे,माटो परीक्षणलगायतका काम सम्पन्न भइसकेकाले छ महिना भित्र महाशाखलाई रिपोर्ट दिने बताए।

उनका अनुसार तल्नुबगरमा एक सय मीटर लामो,खदाङ्गमा असी मीटर लामो र छलगार्डमा चालीस मिटर लामो पक्की पुल बन्ने छन्। तत्कालका लागि नेपालगञ्ज, सुर्खेतबाट आउने सवारीसाधन सिधा वारपार गराउनका लागि तल्नुबगरमा बेलिब्रिज बन्दै छ भने खदाङ्ग हरियापानीमा बेलिब्रिज सञ्चालनमा आइसकेको छ।

त्यसैगरी छलगार्ड खोलमा पनि बेलिब्रिज पुल नहुँदा हिँउमा खोला घटेको समयमा सवारीसाधन वारपार सहजै भएपनि बर्षातको समयमा खोला बडेर खोला वारीनै सवारीसाधन रोकिने गर्दछन्।

यसबाहेक भेरी करिडोरअन्तर्गत पर्ने चौखा, गोतामकोट, करोपगार्ड, चुँगार्ड लगायतका दर्जन धेरै ठाउँमा पक्की पुल बनाउन बाँकी रहेको छ भने केही स्थानमा बेलिब्रिजमार्फत सवारी आवागमन गराइएको छ।

प्रकाशित मिति: : 2023-04-04 14:50:00

प्रतिकृया दिनुहोस्