तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित

अष्ट्रियाको  भियनास्थित  नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ।

 खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उनलाई सम्मान गरेको हो। सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गरेकाे रेफ्री ढकालले बताएका छन्।

युरोपेली देशमा सञ्चालन हुने विश्व बरियताका खेलमा निर्णायकको भूमिकामा रहेका ढकाल नेपालको प्रतिनिधित्व गर्दै अष्ट्रियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि त्यहाँ पुगेका हुन्। 

ढकाल स्पेनको अलिकान्टे सहरमा सञ्चालन हुने प्रतियोगितामा समेत सहभागी हुने बताइएको छ। केही महिनाअघि ढकालले उज्वेकिस्तानको तास्कन्दमा ‘पेरिस ओलम्पिक, २०२४’ को अन्तर्राष्ट्रिय रेफ्री छनोट तालिममा सहभागी भएका थिए।

उनले यसअघि बेल्जियम, स्पेन, फ्रान्स, पाकिस्तान, जर्मनी र चीनमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।

प्रकाशित मिति: : 2023-04-06 07:17:00

प्रतिकृया दिनुहोस्