गृहजिल्लाबाटै लखेटिइन् सञ्चारमन्त्री रेखा शर्मा (भिडियाेसहित)

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई चार लेन सडक बनाउन ढिलाइ गरेको भन्दै गृह जिल्ला दाङमा स्थानीयले लखेटेका छन्। दाङका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेकी मन्त्री शर्मालाई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सडकमै उत्रिएर स्थानीयले विराेध जनाएका थिए।

नारायणपुरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन जान लागेकी शर्मालाई बोली एउटा र व्यवहार अर्को भएको भन्दै स्थानीय बाटोमा विराेध जनाउँदै प्रश्न गरेका थिए। ‘निर्वाचन हुनुअघि चार लेन सडक १५ दिनमा निर्माण सुरु हुने भन्ने अहिले आधा वर्ष पुग्दासमेत ठेक्का प्रक्रियामा रोकिने,’ स्थानीयले प्रश्न गर्दै भने, ‘यो बोली एउटा व्यहार अर्को किन भयो ?’

स्थानीयले विरोध गर्दै गर्दा मन्त्री शर्माले चार लेन सडकको ठेक्का तोडिने अवस्थामा रहेको भन्दै जवाफ दिन खोजेकी थिइन। उनले ठेक्का तोड्न अलि गाह्रो भइरहेको बताएपछि सरकारलाई किन ठेक्का तोड्न गाह्रो भयो भनेर स्थानीयले थप प्रश्न गर्दै बोल्न दिएनन्। त्यसपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला ईन्चार्ज निर्मल आचार्यले मागका सम्बन्धनमा आफूहरु सकारात्मक रहेको र छलफलमा बस्न तयार रहेको बताएका थिए।

विरोधकाबीचमा मन्त्री शर्माले चार लेन सडकका विषयमा भौतिक र अर्थ मन्त्रीसँगै भारतका राजदूतसँग छलफल भएको र ठेक्का तोडिने अवस्थामा रहेको बताइन। तर, ठेक्का तोड्न ढिलाइ भइरहेको र चार लेनले नागरिकलाई समस्या भएको भन्दै मन्त्री शर्मालाई स्थानीयले बोल्न दिएनन्।

घोराही–तुलसीपुर सडकखण्डको निर्माण नहुँदा वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुनुका साथै सडकमा परेका खाल्डाखुल्डीले यात्रामा नागरिकलाई समस्या हुने गरेको छ। ३० महिनामा सक्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लि.ले सन् २०१९ फेब्रअरीमा निर्माणको जिम्मा लिएको थियो।

तर, निर्माणको जिम्मा लिएको चार वर्षसम्म सडकको भौतिक प्रगति २० प्रतिशत हुन सकेको छैन।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-27 16:15:00

प्रतिकृया दिनुहोस्