सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिता अन्तर्गत अभ्यास सत्रको पहिलो दिन सम्पन्न भएको छ।
पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइकलिङ गरेका छन्। प्रतियोगितामा बिभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ।
फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगिता अन्तर्गत २६ राइडरहरुले मुख्य स्पर्धामा शुक्रबार र शनिबार प्रतिस्पर्धा गर्नेछन्। जसमा दुई विदेशी राइडरहरु पनि रहेका छन्।
हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धनमा सहयोग पुगाउनका लागि भएको प्रतियोगिता २० गतेबाट सुरु भएर २६ गतेसम्म चल्नेछ।
‘हाइ अल्टिच्युटमा भएको पहिलो माउन्टेन रेस हो। सोलुको पर्यटनमा पनि यसले सहयोग पुगाउन्छ भन्ने हाम्रो विश्वास छ। त्यस्तै माउन्टेन रेसलाई पनि यसले प्रवद्धन गर्नेछ,’ फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले भने।
प्रतियोगिताको विजेताले ३० हजार पुरस्कार प्राप्त गर्नेछ। जसमा महिला र पुरुष इलिटमा पहिलो हुनेले ३० हजार पाउँदा दोस्रोले २० र तेस्रो हुनेले १० हजार पाउनेछ।
प्रतियोगिताको अन्य विधाहरुको विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। केटीएम सिटी मुख्य प्रायोजक भएको प्रतियोगितामा अन्य व्यवसहिक कम्पनीहरुले सहयोग गरेका छन्।