विप्लवलाई महासचिव बनाउन वर्षमान र जनार्दनले देलान् साथ ?

शिलापत्र

काठमाडाैँ

माओवादी केन्द्रको भावी महासचिवको रूपमा नेत्रविक्रम चन्दको चर्चा सुरु भएको छ । माओवादी केन्द्रसहित सत्ता गठन्धनका तीन दलसँग मिसिन विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा आएपछि उक्त चर्चा सुरु भएको हो ।

विप्लवलाई माओवादी केन्द्रसँग एकता गरी महासचिव बन्ने परिस्थिति बनाउन खोजिएको अर्थमा पनि विश्लेषण भइरहेको छ । विगत एक  वर्षदेखि प्रचण्ड र  विप्लव एकताको खोजीमा रहेका छन् । उपाध्यक्ष कृष्णबहादुर महरा दुई नेताबीचको पुलको काम गरिरहेका छन् । 

माओवादी नेतृत्वले नै विप्लवलाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिने प्रतिबद्धतासहित मोर्चामा ल्याएको माओवादी केन्द्रका एक पदाधिकारी बताउँछन् ।

ती पदाधिकारीका अनुसार, माओवादी केन्द्रमा भएका नेताहरूको आन्तरिक लडाइँबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजित भएपछि त्यसको विकल्पका रूपमा विप्लवसँग पार्टी एकता गर्ने तयारी भएको हो । विप्लवलाई प्रचण्डले आफूपछिको नेतृत्वको रूपमा स्थापित गर्ने रणनीति लिएको माओवादी वृत्तमा चर्चा छ ।

प्रकाशित मिति: : 2023-06-22 09:43:00

प्रतिकृया दिनुहोस्