कतारमा एक ‘राज’

डिल्ली पाण्डे

दाेहा,कतार
BreaknLinks
BreaknLinks

ती पारि टल्किने हिमाल अनि भीरखर्के पहाडहरू गाँसिएका क्षितिज पारि के होला ?

बाग्लुङ कुश्मिसेराका धुलाम्मे भुँइहरूबाट क्षिजित चियाइरहने राज रेग्मीका बालकल्पनाहरू त्यो क्षितिजभन्दा अझ पारि उडेर पुग्थ्यो- पक्कै अर्को संसार होला।

र, एक दिन उनै राज रेग्मी कैयौं पहाड, चुचुरा अनि समुद्रहरू पार गर्दै मरुभूमिको एउटा तातो धर्तीमा टेकिए।

सन् २००३ तिर पहिलो पटक २ वर्षे कामदार भिसा बोकेर कतार टेकेका राज रेग्मीलाई जीवनमा कहिल्यै लागेको थिएन कुनै दिन यही भूमि उनका लागि जीवनको सबैभन्दा लामो उडान बन्नेछ।

जीवनमा सब कुरा सोचेको जस्तै कहाँ हुन्छ र !

राजका जीवनमा पनि त्यस्ता कैयौं ‘राज’हरूमा उसैगरी खुल्दै गए जो उनका कल्पनाका ती क्षतिजभन्दा निकै पर पर थिए।

आज संसारभरि उजेलिएको कतारमा एउटा उज्यालो धर्सा बनेर त्यही ‘राज’ झन् झन् चम्किरहेको छ।

यी उनै राज हुन्, सन् २००० को सुरुवाती दशकमा पैसा पछ्याउँदै कतारी भूमिमा आइपुगेका थिए। र आज यी राजको पछि-पछि त्यही पैसा दगुरिरहेको छ।

सन् २००३ का ती दिनहरू थिए, जतिबेला कतारी भूमिमा राजका पाइलाहरू पैसा कमाउनका लागि लखराइरहेका थिए। १८०० रुपैयाँ तलबका लागि उनी धेरै भौतारिए यो तातो भूमिमा। आज उनकाे कम्पनीमा ३५ हजारभन्दा धेरै तलब खाने मान्छेहरू काम गर्दैछन्। त्यो पनि ५ हजारभन्दा धेरै मान्छेलाई रोजगारी दिने ‘राज’ बनेका छन् उनी।

४० को उकालो टेक्दै गरेका राज विकासको उकालो लम्किरहेको कतारमा एक सफल व्यवसायी हुन्। कुनै बेला ‘वर्किङ’ भिसा बोकेर भौतारिएको यही भूमि हो। एउटा काम भनेर अर्कै काम गर्नु परेको पनि यही ठाउँ हो। र, आज उनकै हातले हजारौं त्यस्ता भिसाहरू भित्र्याइरहेका छन्।

के लाग्छ, राजलाई यो आफ्नै राज ?

‘कतारको यो भूमिमा आएर यसरी व्यापार व्यवसाय गरेर बसिएला भन्ने त कहिल्यै कल्पनासम्म पनि थिएन’ पैसा कमाउन त्यो बेला यही भूमिमा लरखराएका राजका व्यावसायिक पाइलाहरू अब यहाँको सडकमा निकै दरिला भइसकेका छन्।

‘जसरी म कामदार भएर यहाँका आएका बेला काम गर्थें अहिले पनि उत्तिकै काममा खटिन्छु। त्यो बेला अरूका लागि काम गर्थें अहिले आफ्नै लागि आफ्नाका लागि काम गरिरहेको छु’, राजलाई लाग्छ, ‘त्यसका लागि चाहिने भनेकै मिहनेत हो। समर्पण हो अनि धैर्य नै हो। खासमा यी कुनै राज त होइनन्, सफल हुनका लागि चाहिले जीवनका सुत्रहरूमात्रै हुन्।’


१० वर्ष कार्टुन प्याक गरी व्यवसायी बनेका हरिलाई आफ्नोभन्दा समाज सेवा प्यारो


सन् २००३ मा दुई वर्षका लागि काम गरेर नेपाल फर्किएका राज त्यसपछि फेरि सन् २००९ तिर कतारमै फर्किए। त्यो बेला काम खोज्दै आएका थिए। र यो बेला उनी त्यस्ता हजारौं ‘राज’हरूलाई काम दिन आएका थिए।

‘त्यो बेला अलिअलि पैसा कमाउँछु भनेर आएको थिएँ। अरूजस्तै म पनि यहाँ काम खोज्नै आएको थिएँ। अनि अरूजस्तै हातमा वर्किङ भिसा बोकेर आएको थिएँ’, ती दिनका यादहरू अहिले पनि राजसँग उत्तिकै ताजा छन्, जसले उनलाई आजको व्यावसायिक बाटोमा झन् ताजगी दिइरहेका छन्।

त्यसपछि पनि नेपालमै केही गर्ने सोच थियो। तर कुनै विदेशी भूमिमा बसेर व्यवसाय गर्ने भनेर सोचिसकेका थिएनन्। उनलाई फेरि त्यही कतारको यादले तान्यो। जहाँका तातो हावाले उनका पसिना सेकिन्थे।

त्यो बेला कतारले विकासको गति छोपिसकेको थियो। उजाड मरुभूमिलाई हरियो बनाउँदै विकासको गति अघि सार्ने संकल्प बोकेको कतारी विकासको यही गतिमा राजका व्यावसायिक पाइलाहरू पनि मिसिन आइपुगे। मरुभूमि अनि अरेबिक समुद्रको काखमा बलिरहेको कतारी विकासको गतिले अहिले बुकुर्सी मारिरहेको छ। रुख रोपेर जोगाउँदै बामे सरिरहेको कतारले सारा विश्वसामु आगामी सन् २०३० सम्ममा पूरै कतारलाई हरियो बनाउने कसम खाइरहेको छ। त्यसका लागि कतारका मित्र राष्ट्रहरूले बिरुवाहरू उपहार पनि पठाइरहेका छन्।

‘अब यसपालि भने अलिअलि पैसा लगाएर कतारमै केही गरौं भन्ने भयो’, राजलाई लाग्यो ‘अलिअलि बुझेको ठाउँ पनि हो। यहीँको आइडिया पनि छ। अनि नयाँ ठाउँमा अवसर पनि...।’

विकास निर्माणका काममा उनले यहाँ अवसर देखेका थिए। नेपाली कामदारको मिहेनत अनि पसिना बगेको देखेका थिए। कति आफैंले भोगेर फर्किएका थिए। कतिका कहानी आफैंले सुनेका थिए। कतारमा अवसर पनि थियो अनि चुनौतीका पहाड झन् उँचा।


विनोद थापाको छलाङ: मजदुर भएर मलेसिया आए, मालिक हुँदै एनआरएनए हाक्दै (भिडियाेसहित)


चुनौतीका ती अग्ला पहाड नछिचोर सफलता पाउनु त कहाँ र!

त्यसपछि उनले कतारको दोहामा कम्पनी खोले। खासगरी उनका कम्पनीहरू अहिले पनि निर्माण क्षेत्रमा काम गर्छन्। यहाँका एयरपोर्टदेखि फिफा विश्वकप अनि अरू कैयौं ठूला परियोजनाहरूमा पनि उनका कम्पनीले काम गरिसकेका छन्।

यो कतारी भूमिमा आफू हिँड्ने बाटो यी राजले आफैं कोरे जसरी उनको गाउँ चिरेर बेपत्ता बगिरहेको कालीगण्डकीले आफू समुद्र पुग्ने चिराहरू आफैं भेटेको थियो।

यो कर्मभूमिमा उनीमात्रै एक्ला राज छैनन्। यहाँ धेरै राजहरू छन्, कुनै राजहरू कामदार छन्। श्रमिक छन्। कुनै राजहरू उनीजस्तै व्यवसायीहरू पनि छन्। जसले हज्जारौं ‘राज’हरूलाई काम दिएका छन्। आश्रय दिएका छन्।

र, करिब ५ लाखभन्दा धेरै नेपालीका लागि यी राज एक आशा र भरोसा पनि हुन्। उनले यहाँ व्यापार व्यवसायमात्रै गरेका छैनन्। तातो कतारमा पसिना बगाइरहेका तमाम नेपालीको हरेक दु:ख सुखमा पनि उत्तिकै खटिन्छन्। काम नपाएर भौतारिएका कैयौं नेपालीलाई उनले काम पनि लगाइदिएका छन्। कतिलाई आफ्नै कम्पनीमा काम दिएका छन्। कतिलाई सहजीकरण गरिदिएका छन्।

त्यो बेलामा खासै नेपाली व्यवसायमा जमिसकेका थिएनन्।

काम गर्न छिरेका नेपालीले यहाँ व्यापार गरिखान्छन् भनेर कसले पत्याउने?

र, पनि केही नेपालीले हिम्मत गरिरहेका थिए। त्यसैमा हैंसे गर्न थपिए राजका पाइलाहरू। अनि यहीँ दरिँदै गए। आजको उनको व्यवसाय कतारमा जमिसकेको छ। यहाँमात्रै होइन, अब उनका व्यावसायिक पंखहरू नेपालमा पनि फिँजिन थालिसकेका छन्। नेपालका धेरै हाइड्रोपावर, बैंक, अनि होटेल र अरू पनि धेरै व्यवसायमा उनले लगानी विस्तार गरिरहेका छन्।


काठमाडाैँमा हन्डर खाएर विदेशिएका नारायण मलेसियमा बन्दैछन् आइडल


‘हामीले सिकेको सिप अनि कमाएको पैसा यहाँ राखेर के हुन्छ र?’ राज भन्छन् ‘बरू त्यसलाई आफ्नै देशमा लगानी गर्नुपर्छ भनेर हामी धेरै साथीभाइहरू मिलेर नेपालमा पनि लगानी गरिरहेका छौं।’

अहिले धेरै नेपालीले कतारमा व्यापार व्यवसाय गरिरहेका छन्। कम्तीमा एक हजारभन्दा धेरै नेपालीले अहिले कतारमा निकै व्यापार व्यवसाय विस्तार गरिसकेका छन्। ससाना व्यवसाय गर्नेहरू पनि थुप्रै छन्। यहाँको दूतावासमा दर्ता भएर नेपाली व्यवसायी संघमार्फत उनीहरू संगठित पनि हुन थालेका छन्। दूतावासको एउटा रेकर्डअनुसार यहाँ करिब ३ लाख ४६ हजार ३८९ जना नेपाली छन्। तर रेकर्डमा नभएका अरू त्यत्तिकै संख्यामा नेपाली पनि छन्।

यहाँको नियम कानुनलाई टेकेर व्यापार व्यवसाय गर्न खासै गाह्रो छैन। नेपालमा जस्तो एउटा सानो कम्पनी दर्ता गर्नका लागि दश ठाउँमा कर्मचारी अनि दलालहरूको हातपाउ जोड्नु पनि पर्दैन। लगानी गर्नेलाई यहाँ सरकारले लुट्दैन। बरू सम्मान गर्छ। अझ प्रोत्साहन गर्छ।

उनकै अनुमानमा मध्यपूर्वका देशमध्ये सबैभन्दा धेरै नेपालीले कामसँगै व्यापार अनि व्यवसाय पनि गरी बसेको देश कतार नै हो। अरू देशभन्दा यहाँ नेपाली धेरै नै छन्। मध्यपूर्वबाट एउटा विश्वअर्थतन्त्रमा एउटा शक्ति बन्ने उकालो उक्लिरहेको यही कतारमा राजजस्ता धेरै नेपाली व्यवसायीलाई अब यहाँका राज्य अनि सरकारले पनि विश्वास गर्न थालेका छन्। यहाँको अर्थतन्त्रमा नेपालीको योगदान पनि अब गणनामा आउन थालेको छ।

व्यवसायका लागि मात्रै होइन, वैदेशिक रोजगारीका लागि पनि कतार निकै सुरक्षित गन्तव्य भएको छ। अरू देशको तुलनामा कतार श्रमिक अधिकार र सुरक्षाका दृष्टिकोणले धेरैको सुरक्षित गन्तव्य बनेको छ।

अब यहाँका मान्छेलाई हेक्का भइसकेको छ- नेपालीले पनि पाए भने गर्नसक्छन् है!

‘यो विदेशी भूमि हो। यहाँको आफ्नै नीति नियम हुन्छ। हामीले यहाँका हरेक नियम कानुन पछ्याउँदै व्यापार व्यवसाय गर्दा खासै गाह्रो हुँदैन। नेपालको जस्तो खासै झन्झटिलो प्रक्रियाहरू पनि छैनन्’ राजको सुझाव छ ‘हरेक देशमा त्यस्तै हो। नियम कानुन पछ्याउँदा खासै गाह्रो हुँदैन।’

व्यवसायसँगै गैरआवासीय नेपाली संघ एनआरएनएमा पनि एउटा प्रभावकारी ठाउँमा उभ्याइसकका छन् राजले आफूलाई। कुनै बेला मध्यपूर्वका संयोजक पनि रहेका उनी अहिले एनआरएएनएको युवा उपाध्यक्ष हुन्। एनआरएनएभित्र अब नेतृत्वका लागि तयार भएका दोस्रो पुस्ताका एक उदाँउदै गरेका यी राजका पाइला यो अभियानमा अझै अघि बढ्न उचालिइसकेका छन्।


विश्वबजारमा जमेकाे नेपाली ब्राण्ड, जसलाई मलेसियाले पत्यायाे (भिडियोसहित)


आफ्नो भविष्य खोज्दै विश्वका देश चाहर्दै हिँडेका नेपालीलाई नेपालको एउटै डोरीले बाँध्नका लागि जन्मिएको एनआरएनएभित्र उनले पनि महसुस गरेका छन्, नेपाली राजनीति त्योभित्र पनि छिरिसकेको छ। समृद्धिको एउटा गतिमा सलल बग्दै गरेका राजजस्ता धेरै युवालाई लाग्छ, यो विकृत राजनीतिले धेरै नेपाली मनहरू बिथोल्दैछ। र, फेरि पनि राजहरूले संकल्प गरेका छन्- अब यसलाई युवाहरूले राजनीतिबाट टाढा राख्नेछन्।

अबका केही महिनापछि एनआरएएनको एघारौं अधिवेशन हुँदैछ। नेतृत्वका लागि आफूलाई माझिरहेका राज अझ पनि माथि उक्लिन चाहिरहेका छन्।

केही गर्ने जोस छ, उनीसँग। उमंग छ। अनि जोस र उस्तै जूनून छ।

र, सफलताको चम्किलो एउटा अर्को ‘राज’ छ।

प्रकाशित मिति: : 2023-07-03 07:45:00

प्रतिकृया दिनुहोस्

    Dear Raj sir. Keep it up we are support fully. NRN All of members Cher up.... Cheers up

    • 9 महिना अगाडि
    • Saroj tamang