दौड संस्कृतिलाई प्रवर्द्धन गर्न एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभले सहकार्य गर्ने 

नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभले सहकार्य गर्ने भएको छ।

नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्न एनआरएसले इनड्राइभसँग सहकार्य गर्न लागेको स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए। 

‘स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन सक्ने हो भने नेपालले माथिल्लो दर्जाका धावक उत्पादन गर्न सक्छ र तिनले विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्न सक्छन्’ अध्यक्ष श्रेष्ठले भने।

नेपालमा खेलकुदको प्रवर्द्धनका लागि एनआरएस र इनड्राइभबीचको सहकार्य कोशेढुंगा उपलब्धि हुने विश्वास रहेको उनले बताए। उनले यो सहकार्यको उद्देश्य खेलकुदप्रति रूचि राख्ने सबै उमेर समूह तथा स्वास्थ्य र तन्दुरुस्तिमा जागरुक व्यक्तिदेखि व्यवसायिक धावक र यो क्षेत्रका नवप्रवेशीलाई एक थलोमा ल्याउने जनाए।

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो कार्यक्रम सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौं र नेपालमा दौड संस्कृतिलाई प्रवद्धर्न गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी छौं। प्रशिक्षण र यसका लागि चाहिने सहयोग उपलब्ध गराउन सक्ने हो भने हामीले त्यस्ता नेपाली धावकको खोजी गर्न सक्छौं, जसलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिधित्व गर्न योग्य बनाउन सक्छौं।’

एनआरएस स्पोर्टस फाउन्डेसन प्रालि एक खेलकुदको इभेन्ट्स म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको छ, जसले  नेपालमा खेलकुदका विभिन्न गतिविधिको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ। यसको उद्देश्य नेपालमा खेलकुदको प्रवर्द्धन र प्रतिभाशाली खेलाडीको विकासमा टेवा पुर्‍याउनु रहेको एनआरएसले जनाएकाे छ।

कार्यक्रमबारे थप जानकारी प्राप्त गर्न र नाम दर्ता गराउनका लागि एनआरएस स्पोर्टस फाउन्डेसनको बेव साइट डब्लूडब्लूडब्लू एनआरएसस्पोर्टस फाउन्डेसन टड ओआरजी डट एनपीमा जान सकिने बताइएकाे छ। प्रशिक्षण काठमाडौँ उपत्यकाक्षेत्रभित्र पाटन, भक्तपुर, थिमि, कीर्तिपुर, हेटौंडा, बुटवल र पोखरामा हुनेछ।

प्रकाशित मिति: : 2023-07-06 15:52:00

प्रतिकृया दिनुहोस्