म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ।
सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण र बृहत् जलाधार आयोजनाको सहयोगमा संरचना निर्माण भएको हो।
उपभोक्ता समितिका अध्यक्ष कुमार केसीले सरस्वती मावि पछाडिको पहिरो र कटान रोकथामका लागि तीन तहको पक्की पर्खालका साथै तातोपानी बजार र प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न ग्यावियन पर्खाल निर्माण भएको जानकारी दिएका छन्।
'तातोपानी बजारमा नदी र पहिरो नियन्त्रण गर्न यस वर्ष रु ९५ लाख बराबरको काम भएको छ', उनले भने, 'पहिलो चरणमा प्राप्त रु ५० लाख अनुदानबाट सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा ५०–५० मिटर लामो र चार मिटर अग्लो रिटेनिङ पर्खाल लगाइएको थियो। असार महिनामा आएको रु ३५ लाख बजेटबाट यसअघि बनाइएको पर्खालमाथि पहिरो रोकथामका लागि थप ४९ मिटर लामो र चार मिटर अग्लो पर्खाल बनाउने काम सकिएको छ।'
मसार क्षेत्रमा पर्खाल लगाउने तयारी गरिए पनि असार लागिसकेको र म्याग्दी नदीमा पानीको सतह बढेकाले त्यहाँ काम गर्न नसकिने भएपछि पहिरो रोकथाम गर्न थप पर्खाल बनाएको केसीले बताएका छन्।