‘एसियन गेम्स’को तयारी गर्न मन्त्रीक्वाटरमा ‘रेड लेवल र बङ्गुरको मासु’

उमेश थापा

काठमाडाैँ
BreaknLinks
BreaknLinks

आगामी भदौ २५ देखि हुने १९औं एसियन गेम्सको तयारीमा आर्थिक चलखेल गर्न यतिबेला राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सक्रियता बढाएका छन्।

राजनीतिक दलका नेता–मन्त्रीसम्मलाई आफ्नो वशमा ल्याउन कसरत गरिरहेका छन्। स्रोतका अनुसार उनले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई मनाउन पिछा लागेका छन्।

अघिल्लो सातामात्रै उनी मन्त्रिनिवास पुलचोकमै पुगेका थिए। मन्त्रीसँगको उनको ‘गोप्य’ बसाइँ रातको १ बजेसम्म चलेको थियो।
त्यसक्रममा उनीहरूले ‘रेड लेवल’ र बङ्गुरको मासुसमेत खाएको प्रत्यक्षदर्शी बताउँछन्। मासु लिनका लागि राखेपकै गाडीमा सदस्य सचिव घिसिङले आफ्ना ड्राइभरलाई राति बजार पठाएका थिए।

‘उहाँकै ड्राइभर मासु लिन जानु भएको थियो। रक्सी उहाँ आफैले लिएर आउनु भएको हो कि मन्त्रीज्यूसँगै थियो थाहा भएन,’ त्यहाँ आउजाउ गरिरहेको देख्ने एकजनाले  भने, ‘रात १ बजेपछिमात्रै उहाँको गाडी बाहिरिएको हो।’

आगामी एसियन गेम्समा नेपालले कम्तीमा २९ खेलमा भाग लिने भएको छ। त्यसका लागि खेलाडी र राखेप तथा सरकारी कर्मचारीसहित लगभग ३०० जनाको टोली चीनको होञ्जाओ जाने तयारी भएको छ। त्यसमा पनि आफू निकट र पार्टीका कार्यकर्ताहरूलाई सहभागी गराउन सदस्य सचिव घिसिङले दबाव दिइरहेका छन्।

‘त्यतिधेरै मान्छेको व्यवस्थापन अनि सहभागिताका लागि तयारी गर्न पनि करोडौं चाहिन्छ,’ स्रोत भन्छ, ‘त्यो रकममा चलखेल गर्नका लागि अहिले सदस्य सचिवज्यूको दौडधुप मन्त्रालयका सचिव र नेतादेखि मन्त्रीकै दैलोसम्म चलिरहेको छ।’

एमाले सरकारका पालामा नियुक्त भएका सदस्य सचिव रमेशकुमार सिलवाललाई वर्खास्त गरेर उनलाई तत्कालीन सरकारले नियुक्त गरेको थियो। २०७८ साल मंसिर १३ गते मन्त्रिपरिषदकको निर्णयबाट उनी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवमा नियुक्त भएका हुन्। उनी माओवादी कार्यकर्ता हुन्। नियुक्तिका लागि माओवादी अध्यक्ष प्रचण्ड आफैले  तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई फोनसमेत गरेका थिए।

ओली निकट मानिने त्यसअघि सदस्य सचिव सिलवाललाई मन्त्रालयले त्यो बेला स्पस्टिकरण सोधेको थियो। तर त्यसमा चित्त नबुझेको भन्दै सिलवाललाई हटाएर घिसिङलाई नियुक्त गरिएको हो।

आफ्नै रुग्बी संघको नेतृत्व गरिरहेका घिसिङ माओवादीका वागमती प्रदेश सचिवालय समितिका सदस्य पनि हुन्।

प्रचण्डकै जोडबलमा नियुक्त भए पनि सदस्य सचिव घिसिङ र प्रचण्डबीच सम्बन्ध अहिले चिसिएको छ। खासगरी प्रचण्डले भनेको ठाउँमा बजेट नहालिदिए पछि घिसिङसँग उनको सम्बन्ध चिसिएको हो।

त्यसलाई सुधार गर्नका लागि घिसिङले बुढानीलकण्ठस्थित प्रचण्डनिकट एउटा खेल प्रतिष्ठानमा २५ लाख दिएका थिए। स्रोतका अनुसार त्यो रकम प्रनील अधिकारीले बुझेका थिए। परिषद्का संरक्षक अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै छन्।

घिसिङ आफैले नेतृत्व गरेको रुग्बी संघमा पनि उनले करिब २ करोड रुपैयाँ हालेका छन्। त्यो रकमको कुनै उद्देश्य भने खुलाइएको छैन। स्रोतका अनुसार उनीविरूद्ध मन्त्रालय तथा अख्तियारमा समेत उजुरीहरूको थुप्रो छ। तर उनले त्यसलाई कुनै वास्ता नगरी मन्त्रीहरूलाई नै हातमा लिन थालेका छन्। 

यसबारेमा उनको प्रतिक्रिया लिनका लागि बिएल नेपाली सेवाले उनको व्यक्तिगत मोबाइलमा गरेको फोन उठाएनन्।

अख्तियारले उनलाई स्पस्टीकरण पनि सोधेको थियो। तर उनले कुनै जवाफ फर्काएका छैनन्। मन्त्रालयमा परेका उनीविरूद्धका उजुरी फाइलहरू भने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको दराजमा थन्किएका छन्।

प्रकाशित मिति: : 2023-07-12 20:30:00

प्रतिकृया दिनुहोस्