कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेबल पुल बन्न लागेको हो।
सडक विभाग पुल महाशाखाअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर पोखरा र गौरी पार्वती न्यू टेक्निकल जेभी कुपण्डोल ललितपुरबीच पुल निर्माणका लागि २०७९ भदौमा सम्झौता भएको हो। निर्माण कम्पनीका इन्जिनीयर मनिष भण्डारीका अनुसार पुल १५ करोड ४९ लाख रुपैयाँको लागतमा ३३ महिनामा सक्ने गरी बन्न लागेको हो।
पुल १२० दशमलव ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। पैदलयात्रुका लागि दायाँबायाँ फुटपाथ निर्माण गरिने छ।
कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिडोर समेत जोड्ने पुलले पाल्पाको मिसन अस्पताल, पर्यटकीयस्थल रानीघाट, तराईका जिल्लामा आवगमन गर्न सहज हुने इन्जिनीयर भण्डारीले बताएका छन्।
पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि पहल गर्दै आएको थियो।
कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका अनिष न्यौपानेले स्याङ्जाबाट मिसन अस्पताल जाने छोटो बाटो नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपरेका थुप्रै घटना व्यहोर्नुपरेको सुनाए।
‘पुल निर्माण गर्ने वर्षौंको हाम्रो सपना पूरा भएको छ,’ उनले भने, ‘मिसन अस्पताल जान–आउन पुलले बाटो छोट्याउने भएपछि हामी खुशी छौं।’ मोटरेबल पुल निर्माण भएपछि मालसमान ढुवानी गर्न, धार्मिक तथा पर्यटकीय यात्रा गर्न सहज हुने विश्वास गरिएको छ।