मिटरब्याजसम्बन्धी विधेयक संसदमा ल्याउन काँग्रेसको माग

सत्तारूढ दल नेपाली काँग्रेसले संसदमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक ल्याउन माग गरेको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद विश्वप्रकाश शर्माले विधेयक संसदमा ल्याउन माग गरेको हुन्।

‘मिटरब्याज पीडितलाई न्याय दिने विधेयक पारित गर्ने दिन यो संसद अवरोधको सिकार भएको थियो। अब साउनको झरी उर्लिएको जस्तो भावना सबैमा उर्लिएको होला, यसलाई ढिलो नगरी संसदमा ल्याउन म सरकारसमक्ष माग गर्दछु,’ सांसद शर्माले भने।

यसअघि एमाले सांसद रघुजी पन्तले सरकारले मिटरब्याजसम्बन्धी विधेयकमा बाहिर विपक्षीले रोक्यो भनेर हल्ला फैलाएको तर संसदमा विधेयक नल्याएको भन्दै आपत्ति जनाएका थिए।

यसअघि सरकारले मिटरब्याज पीडितलाई न्याय दिनको लागि अध्यादेश ल्याएको थियो तर संसदबाट विधेयकको रुपमा पास हुने दिन एमालेले संसद अवरोध गरेपछि अध्यादेश स्वतः निष्कृय भएको थियो।

प्रकाशित मिति: : 2023-07-14 15:29:00

प्रतिकृया दिनुहोस्