कन्सल्टेन्सीको पैसा ठगेर साला-भेना बेपत्ता

विदेशमा पढ्न गएका विद्यार्थीको ‘कलेज फि तिरिदिन्छु’ भन्दै कन्सल्टेन्सीलाई ठगेर दुईजना बेपत्ता भएका छन्।

धादिङमा बसेर अरूलाई झुक्याउँदै पैसा ठगी गर्ने धन्दामा लागेका रामप्रसाद अधिकारी र उनका भिनाजु चिरञ्जिवी न्यौपाने पुतलीसडकस्थित एउटा कन्सल्टेन्सीको १३ लाखभन्दा बढी लिएर फरार भएका हुन्।

ठगिएका सञ्चालकका अनुसार गत फागुनमा उनको कन्सल्टेन्सीबाट एकजना विद्यार्थी बेलायत पढ्न गएका थिए। उनका लागि कन्सल्टेन्सीले नै कलेजको पैसा तिरिदिनुपर्ने थियो।

त्योबेला कन्सल्टेन्सीसँग मास्टरकार्ड अनि पाउण्ड पनि नभएपछि सञ्चालकले आफूसँग चिनजान भएका चिरञ्जिवीसँग कुराकानी गरेका थिए। चिरञ्जिवीले आफ्ना साला रामप्रसादसँग मास्टरकार्ड भएको र यसअघि पनि त्यस्तो काम गर्दै आएको भनेका थिए।

त्यसको केही दिनपछि रामप्रसादले आफूले कार्डबाट पैसा तिरेको भनेर इलेक्ट्रिक बिल ल्याएर सञ्चालकलाई देखाए। सञ्चालकले त्यही बिलअनुसार १३ लाख रुपैयाँ रामप्रसादलाई दिए।

तीन महिनापछि विद्यार्थीले लण्डनबाट फोन गरेपछि थाहा भयो, त्यो बिल नक्कली थियो। कलेजमा पैसा तिरिएको थिएन। त्यसपछि कन्सल्टेन्सीका सञ्चालकले नै फेरि पैसा तिरिदिए।

पैसा फिर्ता माग्न थालेपछि रामप्रसादले कन्सल्टेन्सीको कर्मचारीको नाममा पटकपटक चेक पनि काटेर दिए। तर एनएमबि बैंकको त्यो खातामा पैसा थिएन। पछि सम्पर्क गर्न खोज्दा रामप्रसाद र चिरञ्जिवी दुबै भेटिएनन्। उनीहरू भागिसकेका थिए।

त्यो पैसा उठाउनका लागि कन्सल्टेन्सी सञ्चालकले प्रहरीमा उजुरी पनि दर्ता गराएका छन्। तर प्रहरीले पनि उनीहरूलाई भेटाउन सकेको छैन। 

यसअघि पनि उनीहरूले दुबईबाट यस्तो ठगी गर्दै आएका थिए। नेपालीले विदेशमा गर्नुपर्ने कारोबार दुबईमा रहेका भारतीय नागरिकको मास्टरकार्ड प्रयोग गर्दै ठगी गर्ने गर्थे।

प्रकाशित मिति: : 2023-07-16 13:41:00

प्रतिकृया दिनुहोस्