सञ्चालनमा आएको करिब ७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने इन्धन डिपोको सोमबार शिलान्यास गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विमानस्थलमा बन्ने इन्धन डिपोको शिलान्यास गरेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ९ हजार २१५ वर्गमिटर क्षेत्रफलमा निगमले डिपो बनाउन लागेको हो।
निगमका हवाइ इन्धन डिपो परियोजना प्रमुख भरत रेग्मीका अनुसार बन्न लागेको डिपो ३६ लाख लिटर इन्धन भण्डारण क्षमताको हुनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २५ वर्ष अवधिको फ्लाइट संख्या, यात्रुको चापलाई आधार मानेर सोही अनुसार हवाइ इन्धन भण्डारण कक्ष बन्न लागेको रेग्मीले जानकारी दिए।
विमानस्थलमा ३ वटा हवाइ इन्धन ट्यांकी बन्ने र प्रत्येक ट्यांकीको क्षमता १२, १२ लाख लिटर क्षमताको हुने निगमले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धन डिपो बनाउन गत कात्तिक २९ गते नै सम्झौता गरिएको थियो।
निगमले भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्स्ट्रक्स र समानान्तरले संयुक्त रुपमा डिपो बनाउन मूल्य अभिवृद्धि करबाहेक ६७ करोड रुपैयाँमा ठेक्का दिएको छ।
निगमले सम्झौता भएको समयदेखि २४ महिनामा सक्ने भए पनि १ वर्षभित्रै डिपो बनाइसक्ने दाबी गरेको छ। अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात् पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो।
नयाँ विमानस्थलमा इन्धन डिपो नहुँदा साविक पोखरा विमानस्थलबाटै ट्यांकरबाट हवाइ ढुवानी गरेर भरिँदै आइएको छ।
पुरानो विमानस्थलमा भएको ६० हजार लिटर क्षमताको इन्धन भण्डार गृहको भरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइरहेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्रै सीतिम हुँदा पनि दैनिक ३० हजार लिटरसम्म इन्धन खपत हुँदै आएको विमानस्थलले जनाएको छ। नयाँ इन्धन डिपो बनेपछि उडानमा पनि सहज हुने विमानस्थलले जनाएको छ।