ट्राफिक प्रहरीद्वारा २१ प्रतिशत बढी राजस्व सङ्कलन

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। 

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको हो। 

यो अघिल्लो आव २०७८/७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए। 

अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो। 

ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९/८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक थापाको भनाइ छ। 

यस्तै आव २०७९/८० मा पर्सा जिल्लामा भएको तीन सय ४७ सवारी दुर्घटनमा ३९ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९२ जना गम्भीर घाइते भएका छन्। 

अघिल्लो आव २०७८/७९ मा दुई सय ६० सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। 

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ६३ हजार दुई सय ३८ जनाको सहभागिता रहेको जनाएको छ।

प्रकाशित मिति: : 2023-07-20 20:32:00

प्रतिकृया दिनुहोस्