कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन खुल्यो

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा ५ वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनः भाषा परीक्षाको आवेदन खुलाएको छ। 

कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।

उनका अनुसार भाषा परीक्षा आगामी भदौ १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ भने नतिजा प्रकाशन असोज ३ गते हुनेछ।

ईपीएस कोरिया शाखाले एक सूचना प्रकाशित गरी नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको जनाएको छ।

शाखाद्वारा प्रकाशित सूचनाअनुसार आवेदश नेपाली नागरिक हुनुपर्ने, ईपीएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केका कामदार हुनुपर्ने छ। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ।

फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने जनाइएको छ। 

यसैगरी कोरियामा इ–९ र ३–९–१ भिसामा ५ वर्षभन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभागबाट ईपीएस भाषा परीक्षामा सहभागी हुनसक्ने भनेर नामावलीमा नाम भएकाले फाराम भर्न पाउने जनाइएको छ।

यसअघि कोरियाबाट फर्किएर आएकाले आफूले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए।

प्रकाशित मिति: : 2023-07-22 10:02:00

प्रतिकृया दिनुहोस्