वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट (भीआईपी र भीभीआईपी) कक्ष सञ्चालनमा ल्याएकाे छ।
नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर भीआईपी र भीभीआईपीका लागि सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो।
वीरले सञ्चालनमा ल्याएको भीआईपी र भीभीआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेका छन्।
वीर अस्पतालको पुरानो भवनमा यसअघि भीआईपी र भीभीआईपीका लागि दुई शैय्या छुट्याइएको थियो। अहिले नयाँ सर्जिकल भवनमा ३ शैय्या थप गरेर कुल ५ शैया सञ्चालनमा ल्याइएको हो।
स्वास्थ्यमन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ विशिष्ट कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए।
सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र सम्पूर्ण भीआईपी तथा भीभीआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको भनाई छ।
‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरि १५ सदस्या विशेषज्ञ चिकित्सकको टीम बनाएका छौँ। त्यही टीमले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन’, उनले भने।
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले भीआईपी तथा भीभीआईपी कक्ष सञ्चालनमा आएपछि उपचारका लागि विदेश जाने चलन कम हुने बताए।
बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालन गरेपछि अहिले धेरै बिरामीले वीर अस्पतालमा सहजरूपमा सेवा पाइरहेको डा. पौडेलले बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. धुर्व गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान् कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी, डा. रमेश चोखानी रहेका छन्।