डाेल्पाका राहत शिक्षकहरुद्वारा ‘संघीय शिक्षा ऐन’विरुद्धमा आन्दोलनकाे घाेषणा

डाेल्पाका राहत शिक्षकहरुले संघीय संसदमा पेश हुन लागेकाे ‘संघीय शिक्षा ऐन’विरुद्ध आन्दोलन गर्ने घाेषणा गरेका छन्।

शनिबार जिल्ला सदरमुकाम दुनैमा बसेकाे राहत शिक्षकहरुकाे जिल्ला भेलाले ‘संघीय शिक्षा ऐन’विरुद्ध आन्दोलनको घाेषणा गरेकाे हाे।

नयाँ आउन लागेकाे ‘संघीय शिक्षा ऐन’मा सरकारसँगकाे पटक-पटक सहमति भएअनुसारका राहत शिक्षकहरु माग संवाेधन नभएको भन्दै काठमाडौँमै पुगेरै आन्दाेलन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष पूर्णकेशर न्याैपानेले बताए।

‘संघीय शिक्षा ऐन’मा राहत शिक्षहरुलाई शतप्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धाबाट पनि असफल हुने शिक्षकहरुलाई गाेल्डेन हेन्डचेककाे व्यवस्था गर्नुपर्नेलगायतका माग रहेकाे अध्यक्ष न्याैपानेले बताए।

राहत शिक्षकहरुकाे केन्द्रीय समितिले सर्कुलर गर्ने बित्तिकै डाेल्पामा अध्यापनरत सम्पूर्ण शिक्षक आन्दाेलमा उत्रिने निर्णय भएकाे अध्यक्ष न्याैपानेले बताए।

अहिले डाेल्पामा करिब ७० जना शिक्षक राहत दरबन्दीमा कार्यरत छन्। भने, देशभर ४२ हजार शिक्षक कार्यरत रहेका छन्।

प्रकाशित मिति: : 2023-08-05 15:09:00

प्रतिकृया दिनुहोस्