‘सय किलो सुन’को फाइल सिआइबीमा, महराका बाबु-छोरामाथि पनि अनुसन्धान हुने

प्रहरी बिनाको अनुसन्धान निष्पक्ष नहुने र गहिराइमा नपुग्ने भन्दै चौतर्फी आलोचना भएपछि अन्तत: विमानस्थलबाट भित्रिएको सय किलो सुनको अब बाँकी अनुसन्धान नेपाल प्रहरीको हातमा पुगेको छ।

राजश्व अनुसन्धान विभागले बरामद गरेपछि उसले नै अनुसन्धान गर्दै ‘तस्कर’हरू समाउँदै आएको थियो। अब ती फाइलहरू राजश्वले नेपाल प्रहरीलाई बुझाएको छ।

‘संगठित अपराध’ भएका कारण अब यसको थप अनुसन्धान प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गर्नेछ।

यति ठुलो संगठित र अन्तर्राष्ट्रिय अपराधको अनुसन्धानमा प्रहरीलाई बाहिर राखिएको भन्दै आलोचनामात्रै भएन विमानस्थलको भन्सारमा पनि प्रहरीको उपस्थिति हुनुपर्छ भन्ने बहस पनि यो बीचमा चलेको थियो।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले प्रहरी प्रमुख आइजिपी वसन्त कुँवर र सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यलाई सँगै राखेर सुनको अनुसन्धान सिआइबीलाई गर्न भनेका थिए।

प्रधानमन्त्रीले निर्देशन दिएपनि घटनाको उठान गरिएको फाइल र हालसम्म पक्राउ परेका अभियुक्त राजश्व अनुसन्धानसँगै थिए।

आइतबार राजश्व विभागले हालसम्म गरेको अनुसन्धान, संकलन गरेका प्रमाण र पक्राउ परेका अभियुक्तलाई प्रहरीलाई जिम्मा लगाउने निर्णयमा पुगेको छ।

विभागले अहिलेसम्म विमानस्थलबाट सुन बाहिर लैजान थालेको ट्याक्सीका चालकदेखि तिब्बतीयन मूलका बेल्जियम नागरिकसमेत त्यो प्रकरणमा पक्राउ गरिसकेकाे छ। दावा छिरिङ भनिने उनको सम्बन्ध माओवादीका शीर्ष नेताहरूसँग पनि गाँसिएको छ।

ठमेलको भियना होटेलबाट पक्राउ परेका उनको नेपाली साइनो पनि सिधै नेताहरूसँग छ।

रोल्पा थवाङकी अमला रोकालाई श्रीमती बनाएका उनले माओवादीका ‘शक्तिशाली’ नेताहरूसँग सम्बन्ध गाँसेको भन्दै सञ्चार माध्यमहरूले उनीहरूका बारे ‘हेडलाइन’हरू लेखेका थिए। तर, त्यसरी जोडिएका नेताहरूले भने ‘आफूलाई दोषी प्रमाणित गरेर पक्राउ गर्न’ खुल्ला चुनौती दिइरहेका छन्।

यीसहित अहिलेसम्म १८ जनालाई राजश्वले नियन्त्रणमा लिइसकेको छ।

तीमध्ये क्यान्सरबाट पीडित भनिएकी एक जना भन्सार एजेन्ट रुक्मिना सुब्बालाई आवश्यक पर्दा हाजिर हुने गरी परिवारको जमानीमा छोडिएको छ। अरू १७ जना आरोपित थुनामै छन्। केही व्यापारिक घरानाको नाम पनि जोडिएको छ, तर अहिलेसम्म प्रमाणहरू भने पुगिनसकेको प्रहरीले जनाएको छ।

सिआइबीको काँधमा यो प्रकरण पुगेपछि अब प्रहरीले हङकङसम्म पुगेर अनुसन्धान गर्नसक्ने बाटो खुलेको छ।

यसअघिको ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरी दुबईसम्म पुगेर त्यो सञ्जालको जालो पर्दाफास गरेको थियो।

प्रहरी प्रमुख कुँवरले राजश्व विभागले पत्र दिएलगत्तै सिआइबीले अनुसन्धान अघि बढाउने बताए। राजश्व विभागले एक चरणको प्रारम्भिक अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको बताएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख एआइजी किरण बज्राचार्यले प्रहरी मुख्यालयले विभागका सबै कागजपत्रहरू दिएपछि अनुसन्धान अघि बढाउने बताइन्। ‘पहिला सबै डकुमेन्टहरू आवस् न! अहिलेसम्म हाम्रो हातमा परेको छैन’, बिएल नेपाली सेवासँग कुरा गर्दै एआइजी बज्रचार्यले भनिन्, ‘राजश्व अनुसन्धान विभागबाट फाइल र पत्र पाएपछि सिआइबीले अनुसन्धान अघि बढाउने छ।’

सय किलो सुन आउनुभन्दा अघि विमानस्थलबाटै इ-सिग्रेट(भेप)मा लुकाइ ल्याइएको ९ किलो सुनको सम्बन्ध पनि यसै प्रकरणसँग केलाएर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरेको छ। त्यो ९ किलो सुन प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरासमेत गाँसिएका थिए।

‘अब प्रहरीले त सबैको कनेक्सन हेरिहाल्छ। हामी सबै कुरा हेर्छौं। सुनको कुरा आएपछि अघि वा पछि सबै घटनाहरूको अनुसन्धान हुन्छ’, उनले भनिन्, ‘सबै प्रकरणका सम्बन्धहरू केलाएर हामी अनुसन्धानको जरैसम्म पुग्छौं।’

साउन २ गते राजश्व अनुसन्धान विभागले विमानस्थल बाहिरिन थालेको सय किलो सुन बरामद गरेको थियो। त्यसका लागि अनुसन्धान विभागमै खटिने सशस्त्र प्रहरीले सहयोग गर्‍यो। तर, नेपाल प्रहरी थिएन।

त्रिभुवन विमानस्थल भन्सारबाट ‘जाँचपास’ भएर निस्किसकेपछि राजश्व अनुसन्धान विभागले समाएको हो। त्यो बेलै ट्याक्सीचालकसहित केहीलाई उसले नियन्त्रणमा लिएको थियो।

यो विभाग अहिले प्रधानमन्त्रीकै मातहतमा छ। भन्सार विभाग भने अर्थमन्त्रालयको मातहतमा हुन्छ।

त्यसैले पनि सुरूमै यो प्रकरणमा प्रहरीलाई सामेल गराइएको थिएन। प्रधानमन्त्रीले नै फेरि अनुसन्धानको जिम्मेवारी प्रहरीलाई दिन भनेर निर्देशन दिएलगत्तै १८ दिनपछि राजश्वले प्रहरीलाई फाइल दिएको हो।

यो प्रकरणमा राजनीतिक दलका नेतादेखि ठूला घरानाका व्यापारीसमेत गाँसिएका छन्। प्रकरणको सुरुवातमै व्यवसायी दीपक मलहोत्राको संलग्नता भनेर उनको नाम जोडियो। उनले तुरन्तै पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरे र आफू निर्दोष भएको भनेर धेरै सञ्चारमाध्यमहरूमा अन्तर्वार्ताहरू दिए।

त्यसपछि विभागले व्यवसायी राकेशकुमार अडुकियाको घरमा छापा हान्यो, तर केही प्रमाणहरू फेला परेनन्।

विभागले छापा हान्नुभन्दा अघि नै उनी त्रिभुवन विमानस्थलबाटै विदेश पुगिसकेका थिए। राजश्व अनुसन्धान विभागले तस्करहरूले सुन ल्याएर गाल्नका लागि प्रयोग गरिने केही सामानहरू र त्यसको ठाउँहरूसमेत पत्ता लगाएको छ।

यो सुन तस्करीले अहिले राजनीतिक वृत्त पनि उत्तिकै तातिरहेको छ। सडक, सदन र सरकारदेखि यो प्रकरण समुदायसम्मै पुगिसकेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्मले यो सुन प्रकरणको अनुसन्धान ‘जरैसम्म’ पुग्ने बताइरहेका छन्।

संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले यो सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरी संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरोध गरिरहेको छ। उसले राष्ट्रियसभाको बैठकसमेत अवरुद्ध गर्‍यो।

तर, सरकारका प्रवक्ता रेखा शर्माले उच्चस्तरीय छानबिन समितिको आवश्यकता छैन भनेर प्रस्ट पारिसकेकी छिन्।

भर्खरै सकिएको नेकपा माओवादी केन्द्रको चौंथो पूर्ण बैठक र त्यसअघि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा पनि यो प्रकरण र नेताहरूको संलग्नताबारे कुरा उठेको थियो।

प्रकाशित मिति: : 2023-08-06 21:40:00

प्रतिकृया दिनुहोस्