मन्त्रालयले हटाए पनि वैद्यखानामा हाजिर गरिरहेछन् रामदेव यादव

उमेश थापा

काठमाडाैं

मन्त्रालयले समेत हटाइसकेका सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक रामदेव यादवले अझै पनि कार्यालय छोडेका छैनन्।

हरेक दिनजसो उनी कार्यालय आएर हाजिर गर्दै फेरि कार्यालयकै गाडीमा बाहिरिन्छन्। न उनले कार्यालय छोडेका छन्, न कार्यकारीको हैसियतमै कर्मचारीहरूलाई थर्काउन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई पदबाट हटाएको थुप्रै समय बितिसकेको छ। तर, उनी भने गएका छैनन्। र, मन्त्रालयले पनि त्यहाँ अर्का कार्यकारी पठाएको छैन।

‘हामीले उहाँलाई हटाइसकेका छौं’, बिएल नेपाली सेवासँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरलले भने, ‘अर्को कसलाई जिम्मेवारी दिने भन्नेबारे निर्णय भएको छैन।’

वैद्यखाना विकास समिति गठन आदेशकाअनुसार वैद्यखानाको कार्यकारी निर्देशक हुनका लागि ११औँ तहका आयुर्वेदिक डाक्टर हुनुपर्छ। तर, उनी दशौँ तहका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई २०७९ साल असोजमा उनलाई त्यहाँको निर्देशक नियुक्त गरेको थियो। त्योबेला निर्वाचन आचारसंहिता लागु भइसकेको थियो। त्यसबेला कुनै पनि सरकारी नियुक्ति वा सरुवा बढुवा गर्न पाइँदैन।

त्यहीबेला नै उनको नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिएको थियो। तर, उनी कार्यकारी निर्देशक भइरहे। त्यही आदेशबाट तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार जरिवाना तिराएको थियो। त्यसपछि फेरि गठन आदेशमा व्यवस्था भएबमोजिम उनको योग्यता (११औँ तह) नपुगेको भन्दै सर्वोच्चले पनि उनको नियुक्ति खारेज गरिदिएको थियो।

र, पनि उनले कार्यलय छोडेनन्। मन्त्रालयले पनि कुनै एक्सन लिएन।

खासमा उनी कार्यकारी भएर आएदेखि झन् ओरालो लाग्न थालेको वैद्यखानाको त्यो ओरालो यात्रा थामिएको छैन।

उनले पाँच महिनादेखि कर्मचारीलाई तलब पनि खुवाउन सकेका छैनन्। भएका उत्पादनहरू पनि बन्द गरेर उनले कर्मचारीहरूलाई कामविहीन मात्रै बनाएनन् तलबसमेत दिएका छैनन्। कतिपय कर्मचारीहरूको जिम्मेवारी खोसेर उनले एक वर्षदेखि तलबसमेत दिएका छैनन्।

न काम छ, न तलब नै। पाँच महिनादेखि कुनै पनि कर्मचारीहरूको तलब निकासा भएको छैन। च्यवनप्रास बेचेर उठेको बाँकी पैसा पनि कार्यकारी निर्देशक यादव आफैँले चलाइराखेका छन्।

कर्मचारीहरूलाई तलब खुवाउनु त परैको कुरा, कतिपय कर्मचारीहरूलाई उनले न बस्ने ठाउँ दिएका छन्, न त कुनै जिम्मेवारी तोकेका छन्।

नेपालको एकमात्रै आयुर्वेदिक औषधि उत्पादन र बिक्री गर्ने यो सरकारी उत्पादनमूलक निकाय हो। करिब तीनसय वर्षको इतिहास बोकेको यो वैद्यखाना अहिले भने नाममात्रैको छ।

खासगरी रामदेव यादव यहाँको प्रमुख भएर आएपछि सुरुमा कर्मचारीहरूले उनलाई स्विकारेका थिएनन्। तर, पनि उनले जर्बजस्ती त्यहाँ अधिकार बढाउँदै गए।

बिहान वैद्यखानाकै गाडी चढिआएर उनी हाजिर गर्छन् र फेरि त्यही गाडी चढेर आफ्नो क्लिनिक जान्छन्। कीर्तिपुरको नरदेवी आयुर्वेदिक अस्पतालबाट सरकारले उनलाई वैद्यखानाको प्रमुख बनाएर पठाएको थियो।

ओरालो लाग्दै गएको वैद्यखाना यादव नियुक्त भएर आएदेखि झन अस्तव्यस्त भयो।

प्रकाशित मिति: : 2023-08-08 20:38:00

प्रतिकृया दिनुहोस्