डोल्पामा ऐतिहासिक देवल पुनःनिर्माण 

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत गुद्धुम डाँडामा रहेको प्राचीन एवं ऐतिहासिक देवलको पुन: निर्माण गरिएको छ।

इसापूर्व ११११ सालमा त्रिपुरासुन्दरी देवी उत्पति हुँदा जमिनभित्र घिउसहितको तामाको भाँडाबाट उत्पति भएकी नौ बहिनी देवीमध्ये एक बहिनी देवी पुतली रुपमा उडेर बसेको सो स्थानमा सम्झना स्वरुप बनाइएको ढुंगाको देवल जिर्ण भएपछि पुन: निर्माण गरिएको त्रिपुराकोटका स्थानीयले बताए।

वि.स. २०५७ सालमा चोरी भएका चारवटा शिलामध्ये तीनवटा शिला(मुर्ति) प्राप्त भएको र योगमाया भगवतीको एउटा शिला अझै नभेटिएको सो शिला प्राप्तिका लागि गाउँबासी एकजुट भएर देवल निर्माण गरिएको पुजारी टिकादत्त न्यौपानेले बताए।

स्थानीय देवता सिंहराज मष्टा र बाबिरोमष्टाको निर्देशन अनुसार सम्पूर्ण त्रिपुराकोटबासी जम्मा भएर देवल निर्माणसँगै विधि विधानकासाथ पूआआजा समेत गरिएको न्यौपानेले बताए।

सो देवल ऐतिहासिक देवल र त्यहाँबाट त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्न सकिने भएकाले पैदलयात्रा गर्ने सर्वसाधारणहरु र तीर्थयात्रीहरुले आवतजावत गर्दा फूलपाती चढाएर जाँदा शुभ हुने स्थानीय विश्वास रहेको छ।

स्थानीय देवी देवताको निर्देशन अनुसार त्रिपुराकोटका सम्पुर्ण घरधुरीले ध्वजा, पतका, फूलपाती, भेटी र एक बोतल पानी लिएर देवल निर्माणका लागि डाँडामा पुगेका थिए।

प्रकाशित मिति: : 2023-08-21 13:41:00

प्रतिकृया दिनुहोस्